नेपालका लागि क्यानडाका राजदूत सगरमाथाको आधार शिविर पुग्ने
Everest Fuji News२०७५ चैत्र २१ मा प्रकाशितPublished at 2019 Apr 04
काठमाडौँ–नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत नदिर पटेल सगरमाथाको आधार शिविर पुग्ने भएका छन्।
नेपाल र क्यानडाको सम्बन्धलाई थप उचाईमा पुर्याउने उद्देश्य सहित उनीले चार जनाको टोलीसहित शुक्रबार बिहान आधार शिविरका लागि पदयात्रा सुरु गर्ने बताएका छन्।
पदयात्राबाट आधार शिविर पुग्ने र फर्कदा हेलिकोप्टरको सहायता लिने तयारीमा उनी रहेका छन्। त्यसका लागि करिव १४ दिन लाग्ने अनुमान उनले गरेका छन्।
आफुले आधार शिविरको यात्रा तय गरेकोबारे जानकारी दिन बिहीबार साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिएका उनले भने,‘नेपाल र क्यानडाको विस्तारित सम्बन्धलाई थप उचाई दिन यो सबैभन्दा उत्तम तरिका लागेको छ । त्यसैले यो अभियानमा म जोडिने योजना बनाएँ।’
त्यस सन्दर्भमा पटेलले खासगरी जलवायु परिवर्तनको समस्या समाधान,स्वास्थ्य तथा वातावरण प्रर्वद्धन, महिला सशक्तिकरण, उच्च शिक्षाको पहुँचमा नेपालीलाई पुर्याउने क्यानडाले सँधैव प्रोत्साहन गर्ने बताए।
‘संसारकै अग्लो हिमाल सगरमाथाको आधार शिविर पुगेर अर्थात उचाईमा पुगेर सुन्दर नेपालको अनुभव गर्ने छु र फर्केर विश्व सामू त्यसा विशेषताबारे बयान गर्ने छु,’ पटेलले उत्साहित हुँदै भने।
पटेलले नेपाल सरकारले भिजन २०-२० कार्यान्वयमा आफूले सानो भए पनि सहयोग पुर्याउने प्रयासमा रहेको समेत सुनाए।
‘ नेपालको सुन्दारताको अनुभव गर्न वर्षेनी १४ हजार क्यनडाका नागरिक यहाँ आउने गर्छन् । म आधार शिविर पुगे भने उनीहरु पनि प्रेरित हुने छन् त्यहाँ र त्यहाँ भन्दा माथि पुग्न,’उनले भने।
पट्टेलले नेपालको सुन्दरताले आफुलाई पहिल्यै देखि लोभाएको र जिम्मेवारी सहित नेपाल बस्दा झनै प्रफुलित भएको समेत बताए।
ट्रेकिङ रूटमा क्यानडियन सहयोगमा बनेका योजनाको अवस्था बुझ्ने उनको योजना छ
त्यसक्रममा नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक दीपक जोशीले नेपालको पर्यटन प्रवद्धनमा जोड दिएकोमा राजदूत प्रति आभार प्रकट गरेका थिए।
‘ हामी नेपालको पर्यटन विकासमा विदेसी मुलुक र त्यहाँका नागरिकबाट यस्तै हौसला चाहिरहेका छौँ । तपाईको आधार शिविरसम्मको यात्राले सबैलाई प्रेरित गर्ने छ,’ जोशीले पटेललाई लक्षित गर्दै भने।