Everest Fuji News२०७५ मंसिर १३ मा प्रकाशितPublished at 2018 Nov 29
काठमाडौँ – नेपाल र कम्बोडियाबीच बिहीबार हवाई सम्झौता भएको छ।
पर्यटन मन्त्री रबिन्द्र अधिकारी र कम्बोडियाका मिनिस्टर इञ्चार्ज अफ दी स्टेट सेक्रेटेरियट अफ सिभिल एभिएशन माओ हेभेनिलले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको उपस्थितिमा सो सम्झौता भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
दुवै देशबीच हुने हवाई सम्झौतामा साताको दुवै देशका १४ र १४ फ्लाइट हुनेछन्।
नेपालले हालसम्म यो सम्झौतासहित विभिन्न ३९ देशसँग हवाई सम्झौता गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार यो सम्झौता नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुनेछ।
कम्बोडियाका प्रधानमन्त्री हुन सेन एशिया प्यासिफिक समिटमा सहभागी हुन बिहीबार नै नेपाल आएका हुन्।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न चाहने कम्बोडियाका नागरिकको चाहनालाई हवाई सम्झौताले मद्दत पुर्याउने विश्वास लिइएको छ।
यस्तै कार्गो सेवामा कुनै पनि शर्त लागू नहुने सहसचिव आचार्यले जानकारी दिएका हुन्।