नेपाल भ्रमण वर्ष २०२० सफल पार्नु प्रवासी नेपालीहरु कस्सीदै
Everest Fuji News२०७५ असार ३२ मा प्रकाशितPublished at 2018 Jul 16
टोकियो, 7/15,2018
टोकियोमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्वनका लागि बृहत अन्तरक्रिया कार्यक्रम हुन गईरहेका सरोकारवालाहरुले बताएका छन्। पर्यटन क्षेत्रमा अनुशन्धान तथा अध्ययनरत नेपालीहरुको संस्था “नेपाल जापान पर्यटन अनुसन्धान केन्द्रको संयोजन र सुदूरपश्चिम समाज जापानको आयोजना तथा राप्ती समाज, पर्वत समाज र युथ फर अल को सह आयोजनामा “नेपालको पर्यटन प्रवर्द्धनमा विदेशमा वस्ने नेपालीहरुको भूमिका : सन्दर्भ नेपाल भर्मण वर्ष २०२० विषयक एक दिवसीय विचार गोष्ठी तथा कार्यपत्र प्रस्तुतिकरणको आयोजना हुन गईरहेको छ। टोकियोको इचिगया स्टेसन नजिक रहेको जाइकाको अन्तर्राष्ट्रिय हलमा अगस्त ५ तारिख आईतवार गरिने जनाएको छ ।
विशेषगरी नेपालमा जापानिज पर्यटकहरु प्रत्येक बर्षा घट्दै गइरहेको परिप्रेक्ष्यमा यो कार्यक्रमले नेपाल पर्यटन बोर्डलाई जापानको बजार प्रवर्द्वन गर्न भावी रणनीति बनाउन सहयोग पुग्ने आशा गरिएको छ।नेपाल सरकार पर्यटन मन्त्रालयले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको अवस्थामा जापानबाट धेरै भन्दा धेरै पर्यटकहरु कसरी भित्र्याउन सकिन्छ भन्ने विषय यो कार्यक्रममा विशेष छलफल गरी, छलफलको निष्कर्ष नेपाल पर्यटन बोर्डलाई बुझाउने लक्ष्य रहेको कार्यक्रमका संयोजक विष्णु खनाल ले बताउनु भयो।
कार्यक्रमको पहिलो चरणमा कार्यपत्र प्रस्तुत गरिने छ भने दोश्रो चरणमा सहभागीहरुमाझ सामूहिक छलफलको कार्यक्रम रहेको छ। उक्त कार्यक्रम पर्यटन वोर्डको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को जापानमा प्रवर्द्वन रणनीति बनाउनको लागि गर्न लागिएको कुरा आयोजकहरुले बताएका छन्।यसअघि नेपाल जापान पर्यटन अनुसन्धान केन्द्रका सदस्य बिशेश्वर रेग्मीको संयोजकत्वमा जापानिज भाषामा उल्था गरीएको नेपाल भ्रमण वर्ष २०२० को लोगो नेपाल सरकार पर्यटन मन्त्रालय, पर्यटन बोर्डले सार्वजनिक गरिसकेको छ।
कार्यक्रम दिनको ठीक १ बजेबाट सुरु हुने कुरा जनाएको छ। जापानमा रहनुहुने जापानवासी नेपाली दिदिबहिनी दाजुभाई तथा विभिन्न पेशा तथा व्यवसायमा आबद्ध सम्पूर्णलाई यस गौरवमय कार्यक्रममा उपस्थित भई नेपालको पर्यटन प्रवर्द्वनमा आफ्नो अमूल्य सुझाव प्रदान गरी अहम भुमिकाको लागि आभारी हुने कुरा एन आर एनए जापानका कार्यसमिती सदस्य तथा यस कार्यक्रमका प्रचार प्रसार समिति संयोजक आशिष रावलले बताएका छन्।