संयुक्त पर्यटन ‘रिफ्रेसमेन्ट’ सुरु

Everest Fuji News २०७५ असार २५ मा प्रकाशित       Published at 2018 Jul 09


पर्यटन सेवालाई थप सशक्त बनाउन पर्यटन श्रमिकहरुको क्षमता अभिवृद्धि तालिम राजधानीमा सुरु भएको छ । तालिममा कम्तीमा पनि १ सय पचास पर्यटन श्रमिकलाई पर्यटनसँग सम्बन्धित दर्जन बढी विषयमा विज्ञहरुले समय अनुसार बदलिएको यस क्षेत्रको सीमा र सम्भावनालाई अपडेट गर्ने छन् ।         ‘पेशा वा व्यवसायमात्र नभएर पर्यटन कर्म भनेको साहस, सीप, ज्ञान, व्यवहार र विवेकसँग कसरी जोडिएको छ भन्नेबारे विज्ञहरुले कक्षामा प्रस्ट पार्नेछन्’, कार्यक्रम संयोजक अशोक सिलवालले भने ‘क्वान्टिीटी टुरिजमको प्रसंगले बजार तातेको यो बेला यो कार्यक्रमले क्वालिटी टुरिजमको लागि जोड दिनेछ ।’ नेपाल पर्यटन बोर्डको प्रायोजन तथा पर्यटन क्षेत्रमा कार्यरत तीनओटा आधिकारिक पर्यटन श्रमिक संगठन युनिट्राभ, नेपाल पर्यटन श्रमिक संघ र अखिल नेपाल पर्यटन मजदुर संघको संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रम ६ दिनसम्म संचालन हुनेछ । तालिममा ३० वटा कक्षा समावेश गरिएको छ । कार्यक्रममा पर्यटन, पर्यटक सत्कारको संस्कृति, पथ प्रदर्शनको इतिहास, क्राइसिस व्यवस्थापन, ट्रेकिङ गियर, प्राथमिक उपचार, हाई अल्टिच्ुड सिकनेस, उच्च हिमाली जोखिम, हिमाली मौसम र सुरक्षा, हिमपहिरो, धर्म–संस्कृति, पर्यटन नीति नियम, हेलिकप्टर रेस्क्यु, फ्लोरा–फाउना, पर्यटनका लागि पर्यटन प्रहरी, पर्यटन श्रमिकको भुमिका, ट्रेड युनियन, गाइडिङ टेक्निक, टुरिज्म आइडिया, जर्नी एन्ड जर्नालिजम, पर्यटन अर्थशास्त्रजस्ता विषयमा कक्षा संचालन हुने संयोजक सिलवालले बताए ।         नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण बर्ष २०२० सफल बनाउन पूर्वाधारको क्षेत्रमा चुनौती रहे पनि पर्यटन सेवा क्षेत्रलाई थप सशक्त बनाउन पर्यटन श्रमिकको महत्वपूर्ण योगदान रहने बताए । उनले उस खालको कार्यक्रम देशका मुख्य पर्यटकीय क्षेत्रमा संथालन सकिने बताए । यस्तो कार्यक्रम सिंगो नेपाली पर्यटनको स्त्तरोन्नतिको लागि आयोजना गरिएको युनिट्राभका अध्यक्ष सुमन पराजुलीले बताए । नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष दीपेन्द्र पाण्डे (कपिल) ले जिम्मेवार पर्यटनका लागि यस्ता तालिमले महत्वपूर्ण योगदान दिनुका साथै भ्रमण बर्ष २०२० को लागि दक्ष जनशक्ति निमार्णमा पनि मद्धत पुग्नेमा जोड दिए । विभिन्न विचारका पर्यटन श्रमिक संगठनहरु एक ठाउँमा उभिएर गरिएको यो संयुक्त कार्यक्रमले फुटेर होइन जुटेर अगाडि बढ्न सकिन्छ भन्ने सन्देश प्रकट गर्ने अखिल नेपाल पर्यटन मजदुर संघका महासचिव उपेन्द्र उप्रेतीले बताए । सोमबारदेखि सुरु कार्यक्रम शनिबार समापन हुनेछ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.