निगमको वाइडबडी विमान भोलि आइपुग्दै, यी हुनेछन् गन्तव्य

Everest Fuji News २०७५ असार १३ मा प्रकाशित       Published at 2018 Jun 27


काठमाडौं । नेपाल वायु सेवा निगमको वाइड बडी विमान बिहीबार (भोलि) आइपुग्ने भएको छ । बिहान साढे ८ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको निगमले जनाएको छ ।

“हामीले अन्तिम किस्ता हिजो पठाइसकेका छौं, त्यसैले भोलि बिहान विमान नेपाल आउँदैछ,” निगमका सह–प्रवक्ता शैलेस कंशाकारले भने । निगमले अमेरिकी कम्पनी एएआरलाई दोस्रो किस्ता बापतको रकम पठाएको हो ।

यसअघि निगमले पहिलो किस्ताबापत ८ अर्ब रुपैयाँ पठाएको थियो । एएआरले वाइड बडी विमान १० करोड ४८ लाख अमेरिकी डलरका दरले निगमलाई उपलब्ध गराउने सम्झौता गरेको थियो ।

ad ad वाइड बडी विमान खरिदका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२–१२ अर्ब रुपैयाँ रकम लिएको थियो । निगमले खरिद गर्ने दुई थान वाइड बडी विमान खरिदका लागि सरकारले २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेपछि निगमले सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको हो । निगमले खरिद गरेको उक्त वाइड बडी विमानमा २७४ सिट छन् । जसमा १८ बिजनेस क्लास र २५६ इकोनोमी क्लासका सिट छन् ।

यी हुनेछन् नयाँ विमानका गन्तव्य युरोपेली विमान निर्माता कम्पनी एयरबसमा उत्पादित २७४ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको विमानलाई नेपाल नागरिक उड्ययन प्र्राधिकरणले ‘९एन–एएलवाई’ कलसाइन दिएको छ । निगमले उक्त विमानलाई ‘अन्नपूर्ण’ नामाकरण गरेको छ ।

“विमान आएको दुईदेखि तीन हप्तासम्ममा हामी नागरिक उड्ययन प्राधिकरणबाट लिनुपर्ने आवश्यक इजाजत लिइसक्छौं, र उडान सुरु गर्छौं,” निगमका सह–प्रवक्ता कंसाकारले भने, “उक्त विमानले दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका गन्तव्यमा सिधा उडान भर्नेछ ।”

एमएम डंगोल र श्रवण रिजाल लगायत ७ जनाको टोलीले अन्नपूर्ण उडाउने छन् । अहिले उनीहरु निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार नेतृत्वको टोलीसँगै विमान लिन फ्रान्स पुगेका छन् । यद्यपि उक्त विमान भोलि आयरल्यान्डको हाइफ्लाई एक्सकै पाइलटले उडाएर नेपाल ल्याउनेछन् । कंसाकारका अनुसार फ्रान्सको टुलुसस्थित एयरबसको कारखानाबाट विमान सिधै ६ देखि ७ घन्टा लगाएर नेपाल आइपुग्ने छ ।

निगमले एएआरसँग दुइटा वाइड बडी विमान खरिदका लागि सम्झौता गरेको छ । अर्को विमान एक महिनापछि नेपाल आइपुग्नेछ ।

निगमसँग भएका विमान

अन्तर्राष्ट्रिय बोइङ ७५७– १ थान एयरबस ३२०–२००– २ थान

आन्तरिक ट्विनअटर डीएचसी६– ३ थान (एउटामात्र सञ्चालनमा) एमए ६०– २ थान वाई१२ ई– ४ थान

नयाँ विमान खरिदको योजना निगमले डेढ वर्षमा सबै पुराना विमान विस्थापित गर्ने योजना बनाएको छ । प्रतिस्पर्धी बजारमा टिकिरहन र पर्यटन प्रबद्र्धनका लागि नयाँ विमान खरिद गर्नुको विकल्प नरहेको महाप्रवन्धक कंसाकारले बताउँदै आएका छन् । उनको यो योजनालाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पनि साथ दिएका छन् । उनले आफ्नो सय दिने कार्ययोजनामै ८ वटा नयाँ विमान खरिदको प्रक्रिया अगाडि बढाउने बताएका थिए ।

निगमले १८ महिनाभित्र ६ वटा ट्विनअटर विमान खरिद गर्दैछ भने दुईवटा एयरबस ३२० किन्ने योजना बनाएको छ । यसका लागि आवश्यक पर्ने रकमका लागि उसले सञ्चयकोष र नागरिक लगानी कोषसँग विभिन्न चरणमा छलफल गरिसकेको जनाएको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.