सगरमाथा आरोहीहरुको कीर्तिमानै कीर्तिमान

Everest Fuji News २०७५ जेठ १४ मा प्रकाशित       Published at 2018 May 28


काठमाडौँ : प्रथम महिला पत्रकार सगरमाथा आरोहण-२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराएकी कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राखेकी छिन्।

वसन्त ऋतुको यो याममा महिला पत्रकारलाई सगरमाथाको चुचुरोमा पुर्याउने उनले पथ प्रदर्शकको भूमिका मात्र हैन आफ्नो किर्तिमानीमा पनि नयाँ आयाम थपेकी हुन्।

यो यामसहित १३औँ पटक सगरमाथाको चुचुरोमा पुगेर फुर्वाले आफ्नो नयाँ पहिचान बनाउनुका साथै आफ्नै परिवारको सातजनाको समूहलाई सगरमाथा आरोहण गराएकी र उनीहरूमध्ये चारजनाले एउटै समयमा सगरमाथाको चुचुरोमा पुगेर नयाँ कीर्तिमान बनाएको आरोही फुर्वा शेर्पाले जानकारी दिए।

एउटै परिवारका फुर्वा तेञ्जिङ शेर्पा, फुर्वा थिली शेर्पा, पेम्बा दोर्जे शे गरेर कीर्तिमान राखेको बताए।

यसपटकको सगरमाथा आरोहणमा धेरै कीर्तिमान कायम भएको छ। सोलुखुम्बुका कामिरीता शेर्पाले वैशाख ३१ गते सगरमाथाको चुचुरोमा २२ पटक आरोहण गरेर र सन् २००४ मा पेम्बाले आठ घण्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका पेम्बादोर्जे शेर्पाले पृथ्वीनारायण शाहको मूर्तिसहित सगरमाथाको आरोहण गरेर नयाँ किर्तिमान राखेका छन्।

यही याममा संखुवासभाकी ल्हाक्पा शेर्पाले सगरमाथाको नौपटक सफल आरोहण गरेर नेपाली महिलाको नयाँ कीर्तिमान कायम गरेकी छिन्। महिला पत्रकारहरु रोशा बस्नेत, रोजिता बुद्धाचार्य, कल्पना महर्जन र देउराली चाम्लिङले वैशाख ९ गते सगरमाथाको सफल आरोहण गरेका थिए। ‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूल नारासहित सो महिला पत्रकार समूह सगरमाथा आरोहणमा गएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार समूहका पाँचमध्ये न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक चारजनाले सफल आरोहण गरेका हुन्। उनीहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा पुर्याएका छन्।

वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएर यही जेठ ११ गतेसम्म चलेको थियो।

यस याममा ४०० भन्दा बढीले आरोहण गरिसकेका छन्। अघिल्ला वर्षभन्दा यसपटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ। यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम राजस्व संकलन भएको छ।

सगरमाथा आरोहण सकेर धमाधम आरोही फर्कने क्रममा छन्। आरोही फुर्वा तेञ्जिङ शेर्पाका अनुसार अहिले आधार शिविरभन्दा माथि कोही पनि आरोही छैनन्। आरोहण सकेर घर फर्कन आधार शिविर र त्यसभन्दा तलतिर अनुकूल मौसमको खर्पाइमा छन्। बाक्लो हुस्सुले हेलिकप्टर पुग्न नसकेका कारण उनीहरुलाई फर्कन कठिनाइ भएको छ।

आधार शिविरभन्दा तल गोरखसेपमा रहेकी आरोही पत्रकार रोशा बस्नेतले आफ्नो आरोहण सफल रहेको र सकुशल आधार शिविर ओर्लिएको बताइन्। आइतबार आधार शिविर झरे पनि हेलिकप्टर नआएकाले काठमाडौँ फर्कने पर्खाइमा रहेको उनको भनाइ थियो ।

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणका क्रममा तीनजनाको मृत्यु भयो भने एकजना बेपत्ता रहे। रासस


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.