लाङटाङ म्याराथन भोलि, ५ विदेशीसहित १ सय जना दौडिने
Everest Fuji News२०७५ जेठ ४ मा प्रकाशितPublished at 2018 May 18
रसुवा– रसुवामा शनिबार हुने ‘तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन’को सम्पूर्ण तयारी पूरा भएको छ। जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङस्थित क्याङ्जिङ गुम्बाबाट सुरु हुने म्याराथनको तयारी पूरा भएको आयोजकले जनाएको हो।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का मिडिया संयोजक गोपाल श्रेष्ठका अनुसार म्याराथनमा सहभागी सबै धावक क्याङ्जेन पुगिसकेका छन्। म्याराथनमा ९५ नेपाली र ५ विदेशी धावकको सहभागिता रहने श्रेष्ठले जनाए। उनले भने, ‘यो पटकको म्याराथनमा भाग लिन १५ जना महिलाले नाम दर्ता गराएका छन्।’
शनिबार बिहान ८ बजे क्याङ्जिङ गुम्बादेखि म्याराथन सुरु सुरु भई घोडा तबेला, शेर्पागाउँ, खान्जिम हुँदै स्याँफ्रुबेंशी आएर टुंगिने सहयोगी संस्था हरित युवा पर्यटन विकास समाजका अध्यक्ष प्रमोदकुमार तितुङले बताए। उनले भने, ‘समुद्री सतहबाट ३ हजार ८ सय ७० मिटर उचाइको क्याङ्जिङ गुम्बाबाट सुरु हुने प्रतियोगिताका सहभागी करिब ४ घन्टामा स्याँफ्रुबेंशी आइपुग्छन्।’
क्याङ्जिङ गुम्बादेखि स्याफ्रुबेंशीसम्मको दूरी ४२ दशमलब १९५ किलोमिटर छ। म्याराथनमा भाग लिनका लागि रसुवाका २५ जनाले नाम दर्ता गराएका छन्। म्याराथनमा पहिलो हुनेलाई १ लाख ५ हजार, दोस्रो हुनेलाई ७८ हजार ७ सय ५० र तेस्रो हुनेलाई ५२ हजार ५ सयसहित पदक र प्रमाणपत्र दिइनेछ।
प्रतियोगितामा सहभागी हुन रसुवाबासीका लागि निःशुल्क गरिएको छ। त्यस्तै, विदेशीका लागि ७५ अमेरिकी डलर र रसुवाबाहेकका स्वदेशीका लागि २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क लिइएको छ।
सगरमाथा र अन्नपूर्णपछि महत्वपूर्ण पदयात्रा गन्तव्य मानिने लाङटाङमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पु¥याउने लक्ष्यका साथ प्रतियोगितालाई गत वर्षजस्तै यस वर्ष पनि निरन्तरता दिइएको टानले जनाएको छ।
‘दीर्घकालीन पर्यटनका लागि साहसिक खेल’ भन्ने नाराका साथ टानले २०७३ सालदेखि रसुवामा म्याराथनको आयोजना गर्दै आएको छ। २०७३ मा गोसाइँकुण्डदेखि धुन्चेसम्म हाफ म्याराथनको आयोजना भएको थियो। टानले गत वर्ष क्याङ्जिङदेखि स्याँफ्रुबेंशीसम्मको पूरा म्याराथन आयोजना गरेको थियो।