Everest Fuji News२०७४ मंसिर २७ मा प्रकाशितPublished at 2017 Dec 13
काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको कार्य हालसम्म ३२ प्रतिशतमात्र पूरा भएको छ । काममा भएको पछिल्लो प्रगतिका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीले विमानस्थलमा भइरहेको कामको निरीक्षण गरी हालसम्मको कार्यप्रगतिबारे जानकारी लिनुका साथै अब गरिने कार्ययोजना माग गरेको छ ।
सम्झौताअनुरूप काम भए नभएको, कामको प्रगति र बाँकी काम सक्ने विषयमा उसको कार्ययोजना माग गरिएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए । उनले भने, ‘शुरूमा विमानस्थल निर्माणका लागि नर्थ वेष्टले नेपाली कम्पनी नेपाल इन्फ्रा प्रालिलाई जिम्मा दिएको थियो । निर्माण कम्पनी र स्थानीय ठेकेदारबीच विवाद हुँदा विमान स्थल निर्माणको कामले गति लिन सकेको थिएन । अहिले चिनियाँ कम्पनी आफैले निर्माण गर्दै आएपछि काममा तुलनात्मक रूपमा प्रगति भएको छ ।’ विवाद समाधान गरी काम सुचारु गर्न मन्त्रालय र प्राधिकरणले पटकपटक छलफल गरी कामलाई अघि बढाउन निर्माण कम्पनीलाई निर्देशन दिएको थियो । सम्झौताअनुरूप सबै काम निर्माण कम्पनीले गर्नुपर्नेमा स्थानीय ठेकेदार नियुक्त गरी सम्झैताविपरीत काम गरेकाले चिनियाँ कम्पनीलाई ठेक्का तोड्ने चेतावनीसमेत दिइएको थियो । ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले व्यवस्थापन टीम नै परिवर्तन गरी कामलाई तीव्रता दिएको न्यौपानले जानकारी दिए । एशियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा शुरू भएको आयोजना निर्माणको जिम्मा चिनियाँ ठेकेदार नर्थ वेष्ट सिभिल एभिएशन लिएको छ ।
निर्माण कम्पनीले विमानस्थल निर्माणका लागि आवश्यक पर्ने नदीजन्य सामग्री (माटो गिट्टी, बालुवा)को अभाव भएको र उत्खनन गर्ने नदीका बारेमा समस्या भएको बताएपछि निरीक्षण टोलीले सरोकारवालाहरूलाई राखेर छलफल गरी समस्या समाधानका लागि पहल गरेको छ ।
टोलीले सरोकारवालाहरू जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तथा जग्गासम्बन्धी समस्या समाधानका लागि मालपोत तथा नापी कार्यालयलाई समेतसँगै राखेर निर्माणका लागि आवश्यक कच्चा पर्दाथको आपूर्तिका लागि सहजीकरण गर्न आग्रह गरिएको उनले बताए । अहिले कम्पनीले विमानस्थलमा २ सयदेखि २ सय ५० जनासम्म कामदारले काम गरिरहेको न्यौपानेले बताए । सचिव न्यौपानेका अनुसार सन् २०१८ को जुनसम्ममा नर्थ वेष्टले ८० प्रतिशत काम सम्पन्न गर्ने गरी कार्ययोजना पेश गरेको छ ।
सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी विमानस्थलको काम शुरू भएको थियो । समयमै निर्माण हुन नसक्ने देखेपछि सरकारले सन् २०१८ मा काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । महत्त्वपूर्ण मानिएको टर्मिनल भवन र टावर निर्माणको कार्य आगामी असारसम्ममा सक्ने र धावनमार्ग कालोपत्र (अस्फाल कङ्क्रिट)को काम ८० प्रतिशतसम्म सक्ने गरी कार्ययोजना दिएको छ । न्यौपानेले कम्पनीलाई आवश्यक पर्ने कच्चा सामग्री उपलब्ध हुने भएपछि आयोजनाले थप गति लिने विश्वास व्यक्त गरे ।