अत्यधिक वर्षासँगै भोटेकोसीकाे बहाव बढेपछि स्थानीयमा बाढीकाे त्रास

Everest Fuji News २०७४ बैशाख २४ मा प्रकाशित       Published at 2017 May 07


सिन्धुपाल्चोक । चीनको सीमामा अत्यधिक वर्षाका कारण शनिवार दिउँसोदेखि भोटेकोसीको सतह बढेपछि नदी आसपासका स्थानीय त्रसित भएका छन् । लगातार वर्षा भएकाले नदीको सतह बढ्दै गएकाले स्थानीय त्रसित भएका हुन् । सीमास्थित सशस्त्र प्रहरी बलका डिएसपी विमल डाँगीकाअनुसार सीमामा अबिरल वर्षाको कारण कोसी बढेर आएको हो । नदीले महिनौं लगाएर मर्मत गरिएका बाह्रबिसे तातोपानी सडकखण्ड भूभाग कटान गरेको छ । बाढीले तटीयक्षेत्रका आधिजस्तो जमिनसमेत  बगाएको छ । गत वर्षको बाढीले तहसनहस बनाएपछि आफ्नो थलोमा फर्किएका सीमागाउँ तातोपानी, चौकीडाँडाका बासिन्दामा कोलाहल मच्चिएको छ । बाढी गएको दश महिनापछि वर्षायाम सुरु नहुँदै कोसी बढेपछि सीमाका बासिन्दामा त्रास फैलिएको हो । व्यापारिक केन्द्रका बजार बाह्रबिसे, लामोसाँघु खाडीचौरदेखि बलेफी, सुकुटेसम्मका बासिन्दामा बाढीको भय बनेको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ । ‘आहिले त खोला यसरी बढ्न थालेको छ, बर्खायाममा झन् के होला,’ बाढीले घर बगाएको सात महिनापछि पुन: तातोपानी फर्केका कर्म गुरुङले भने, ‘अब राति फेरि ड्युटी बस्छौं, के थाहा राति खोलाले बगाउने हो की ।’ उनले बाढी आउने डरमा सीमामा जाग्राम बस्ने तयारी गर्न थालेको बताए । थोरै समय वर्षा हुँदा नै खोला बढेर आउन थालेपछि बाढीको जोखिम  बढेको तातोपानी विपद व्यवस्थापन समितिका अध्यक्ष डम्बर श्रेष्ठले बताए । ‘लुगाफाटा, गहना सबै प्याक गरेर राखेका छौं, बाढी साँच्चै आयो भने त भाग्नुपर्छ,’ बाह्रबिसेका स्थानीय राजेन्द्र श्रेष्ठले भने, ‘दिउँसो पानी दर्कन थालेपछि एक्कासी कोसी  बढेर आयो ।’ उनले आहिले  बढेर आएको खोलाले ठुलो क्षति नगरेको भएपनि बाढीको डरमा स्थानीय झोलीतुम्बा बोकेर जाग्राम बस्ने सुरसार गरिरहेको बताए । २०७३ साल असार २१ गते चिनको खासा र कुतिको बीचमा रहेको छेपसाङमा अत्यधिक वर्षा भइ पहिरो लागेर कोसी थुनिएसँगै बाढी आएको थियो । बाढीले तातोपानी, लिपिङ बजारदेखि बाह्रबिसेसम्म ८२ घर बगाएको थियो भने, सीमाक्षेत्रदेखि बाह्रबिसे बजारसम्मका सडकखण्ड, आयोजना  लगायतका करोडौंको संरचना क्षतिग्रस्त  बनाएको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.