नेपाल यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ । फाइनलमा प्रवेश गरेसँगै नेपालले उपाधिका लागि भारतको सामना गर्ने भएको छ । सेमिफाइनलमा बंगलादेशलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । यता, भारतले पनि भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार सम्पन्न खेलमा नेपाललाई जित दिलाउन आकाश बुढा मगरले २ र ब्रिजेश चौधरीले १ गोल गरे । त्यस्तै, १ गोल भने उपहार स्वरुप पाएको थियो । खेलको छैठौं मिनेटमा आकाशले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले डिबक्स भित्र पाएको अवसरलाई सदुपयोग गर्दै सुन्दर गोल गरेका थिए । खेलको ३० औं मिनेटमा बंगलादेशको गोलकिपर र डिफेन्सको फाइदा उठाउँदै गोल आकाशले दोस्रो गोल गर्दै नेपाललाई दोब्बर अग्रतामा पुर्याएका थिए । पहिलो हाफको बाँकी समयमा दुबै टोलीले गोल गर्न नसकेपछि नेपालले पहिलो हाफसम्म २–० गोलअन्तरले अग्रता बनाएको थियो । दोस्रो हाफको ६५औं मिनेटमा बंगलादेशका खेलाडीले आत्मघाती गोल गरेपछि नेपालले ३–० को अग्रता बनाएको थियो । तर खेलको ७२ औं मिनेटमा बंगालदेशले गोल गरेको थियो । त्यसको एक मिनेटमा नै बंगलादेशले गोल गर्दै अग्रतालाई ३–२ मा झारेको थियो । २ मिनेटभित्र बंगालदेशले दुई गोल गर्न सफल भएको थियो । थपिएको अतिरिक्त समयमा ब्रिजेशले गोल गर्दै नेपाललाई ४–२ गोलअन्तरले जित दिलाएका हुन् । दोस्रो सेमिफाइनल हलचोकस्थित एपीएफको खेल मैदानमा भारतले भुटानलाई ३–० ले पराजित गर्न सफल भयो । पहिलो हाफमा १–० ले अघि रहेको भारतले दोस्रो हाफमा थप २ गोल गरेको थियो । फाइनल खेल ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा नेपालले आईतबार भारतसँग खेल्दैछ ।२०७४ भदौ ९ शुक्रबार काठमाडौं ।