दुई सन्तानको बाबु भएपछि बिहे गर्दै मेसी

Everest Fuji News २०७४ असार १७ मा प्रकाशित       Published at 2017 Jul 01


ब्युनस एयर्स : दुई सन्तानका अभिभावक बनिसकेका अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी र उनकी प्रेमिका एन्तोनेल्ला रोकुज्जो वैवाहिक बन्धनमा बाँधिने भएका छन् । मेसी र रोकुज्जो शुक्रबार अर्जेन्टिनाको रोसारियो सहरमा वैवाहिक बन्धनमा बाँधिने कार्यक्रम छ । त्यसका लागि उनीहरूले दुई सय ५० जनाभन्दा बढी पाहुनालाई निम्त्याएका छन् । बाल्यकालदेखिका साथी रहेका मेसी र रोकुज्जोका दुई छोरा छन् । अर्जेन्टिनाको राजधानी ब्युनस एयर्सबाट तीन सय किलोमिटर उत्तरपश्चिममा हुन लागेको मेसीको विवाहमा सर्वसाधारणलाई भने प्रवेश निषेध गरिएको छ । मेसीले आफ्ना पाहुनाका लागि पाँचतारे होटल बुक गरिसकेका छन् । उनले आफ्नो विवाहका लागि अर्जेन्टिनी राष्ट्रिय टोली तथा बार्सिलोनाका सहकर्मीलाई निम्ता दिएको जनाइएको छ । मेसीले बार्सिलोनाबाट नेमार, लुइस स्वारेज, जेरार्ड पिकेलगायतका खेलाडीलाई बोलाएको अर्जेन्टिनी मिडियाले जनाएका छन् । यसैगरी कोलम्बियन गायिका तथा पिकेकी श्रीमती साकिरालाई पनि मेसीले पाहुनाका रूपमा बोलाएका छन् । वैवाहिक कार्यक्रममा सहभागी हुन पाहुना आउने क्रम सुरु भइसकेकाले होटल र त्यस वरपरको सुरक्षाव्यवस्था कडा बनाइएको छ । मेसीको विवाहको व्यवस्थापनको जिम्मेवारी हेरिरहेको होटलले पाहुनाका लागि विशेष सुविधा उपलब्ध रहेको जनाएको छ । होटलले जनाएअनुसार सबै पाहुनाका लागि हेयर ड्रेसरको सुविधा निःशुल्क उपलब्ध गरिएको छ । साथै उनीहरूका बच्चालाई पनि मनोरञ्जनको विशेष व्यवस्था गरिएको छ । एक सय ५० जना पत्रकारलाई मात्रै मेसीको विवाहको समाचार संकलनको अनुमति दिइएको छ । यद्यपि ती पत्रकारलाई सीमित ठाउँमा मात्रै पुग्ने अनुमति दिइने बताइएको छ । मेसी र रोकुज्जोले आफूहरूलाई प्राप्त हुने सबै उपहार लियो मेसी फाउन्डेसनका लागि सहयोगस्वरूप हस्तान्तरण गर्ने बताएका छन् । यसै साता आफ्नो ३०औं जन्मदिन मनाएका मेसी विवाहका लागि रोसारियो पुगिसकेका छन् । मेसी एक मध्यमवर्गीय परिवारमा हुर्किएका हुन् । रोकुज्जो भने मेसीका नजिकका साथीको काकाकी छोरी हुन् । त्यसैले मेसी र रोकुज्जो सानै उमेरदेखि एकअर्काको नजिक रहेर हुर्किएका हुन् । उनीहरूबीच प्रेमसम्बन्ध भने सन् २००० को अन्त्यबाट मात्रै सुरु भएको हो । रोकुज्जोकी नजिककी साथीको सडक दुर्घटनामा मृत्यु भएपछि मेसी सान्त्वना दिन अर्जेन्टिना पुगेका थिए । त्यसपछि उनीहरूबीचको सम्बन्ध प्रेमीप्रेमिकामा परिणत भएको थियो । त्यसपछि रोकुज्जो पनि स्पेनमै बसाइँ सरेकी थिइन्, जहाँ उनीहरूका दुई छोरा जन्मिए । अहिले उनीहरूका जेठो छोरा थिएगो चार वर्ष र कान्छो छोरा माटियो एक वर्ष पुगेका छन् । मैदानमा सधैं जादुमयी प्रदर्शन गर्ने मेसी पाँचपटकका फिफा वर्ष खेलाडी हुन् । फुटबलप्रेमीका लागि असाधारण देखिने मेसीले भने आफूलाई सधैं साधारण व्यक्तिका रूपमा प्रस्तुत गर्दै आएका छन् । मेसीले मैदानमा विपक्षी खेलाडीसँग झगडा गरेको दृश्य विरलै देख्न पाइन्छ । क्यामेराअघि उनी सधैं लजाएर हिँडेको देखिन्छ । तर, उनका सहकर्मी भने मेसी मैदानबाहिर बिल्कुलै फरक रहेको बताउँछन् । 'मेसी महान् फुटबलर हुन् तर मैदानबाहिर र भित्र उनको व्यवहार निकै फरक छ', बार्सिलोनामा कुनै समय मेसीसँगै व्यावसायिक फुटबल खेलेका मेक्सिकन खेलाडी जोनाथन डस सान्तोस भन्छन्, 'उनी साथीभाइसँग जिस्किरहन्छन् । हामीलाई थुप्रै चुट्किला पनि सुनाउँछन् । उनी मैदानबाहिर बिल्कुलै फरक छन् ।'


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.