राखेपले सर्वाधिक राशिको क्रिकेट र भलिबल गर्ने

Everest Fuji News २०७४ बैशाख २६ मा प्रकाशित       Published at 2017 May 09


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट, फुटबल र भलिबलको सर्वाधिक धनराशि पुरस्कारको प्रतियोगिता आयोजना गर्ने भएको छ । त्यसमध्ये क्रिकेट जेठ पहिलो साता हुनेछ । फुटबल र भलिबल भने केही समयपछि गरिनेछ । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका रूपमा क्रिकेट आयोजना हुनेछ । भलिबल सांसद कप राष्ट्रिय प्रतियोगिताको नाममा गरिनेछ । क्रिकेट र भलिबल दुवै लगभग एकै संरचनामा आयोजना हुँदै छ । ५ विकास क्षेत्र र ३ विभागीय टिमले भाग लिने क्रिकेट र भलिबल विजेताले २० लाख र उपविजेताले १० लाख पाउने छन् । धनराशिका हिसाबमा धनगढी प्रिमियर लिग (डीपीएल) नेपालको सबैभन्दा ठूलो प्रतियोगिता थियो । वैशाख ९ मा धनगढीमा सम्पन्न डीपीएल विजेता टिम चौराह धनगढीले १५ लाख र उपविजेता विराटनगर किंग्सले ७ लाख रुपैयाँ पाएका थिए । परिषद्ले आयोजना गर्ने क्रिकेट जेठ ६ देखि हुँदै छ । फुटबलको पुरस्कार राशि ५० लाखको हुनेछ । मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण कप भनेर फुटबल प्रतियोगिता गरिने छ । प्रतियोगिता आयोजना गर्न मदन भण्डारी फाउन्डेसनले ५० लाख रुपैयाँ उपलब्ध गराउने जनाइएको छ । राखेपले सरकारको सहयोग र अन्य स्रोत जुटाएर थप ५० लाख खोजेर फुटबल आयोजना गर्ने राखेप सदस्य–सचिव केशवकुमार विष्टले बताए । दुई वर्षअघि राष्ट्रिय लिग विजेतालाई अखिल नेपाल फुटबल संघले १ करोड पुरस्कार प्रदान गरेको थियो । ‘आउँदो बजेटमा फुटबल र भलिबल प्रतियोगितालाई पनि समेट्ने छौं । क्रिकेटको प्रतियोगिताका लागि अहिले आर्थिक वर्षको बजेट नै छ,’ विष्टले भने, ‘नेपाल क्रिकेट संघ निलम्बनमा रहेको अवस्थामा राम्रोसँग घरेलु प्रतियोगिताहरू हुन पाएका छैनन्, फुटबल तालिकाअनुसार भएको छैन । २ वर्ष भयो राम्रोसँग प्रतियोगिता नभएको । भलिबललाई एक्सपोजर चाहिएको छ । त्यही भएर यो सबै प्रतियोगिता परिषद् आफैले आयोजना गर्दै छ ।’ क्रिकेट कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । ‘दशरथ रंगशाला निर्माणाधीन छ । पोखरामा पनि रंगशाला भत्काएर नयाँ बनाउन लागिएको छ । त्यसैले फुटबल विराटनगरमा गर्छौं होला । भलिबल सायद काठमाडौंमै हुन्छ होला,’ विष्टले भने । फुटबलको पूर्ण स्वरुप नआइसकेकाले टिम तय हुन बाँकी छ । गत साता नेपाल क्रिकेट खेलाडी संघद्वारा आयोजित अन्तरक्रियामा सदस्य–सचिव विष्टले चाँडै नै क्रिकेटको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता गर्न लागेको जनाएका थिए । तर उनले प्रतियोगिताको पूर्ण रुप आउने जनाउँदै नेपालले ६ राष्ट्रसम्मिलित एसियन क्रिकेट लिग गर्ने सम्भावना रहेको बताएका थिए । विष्टले चण्डीगढ क्रिकेट एकेडेमीले नेपालमा क्रिकेट लिग गर्न प्रस्ताव ल्याएको बताए । ७० लाख पुरस्कार राशिको त्यो प्रतियोगिता आयोजना गर्न राखेपले सहमति जनाएको छ । आयोजकले प्रतियोगिता गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र एसियाली क्रिकेट परिषद् (एसीसी) को स्विकृति लिनुपर्ने राखेपको सर्त छ । ‘६ देशले खेल्ने भनिएको छ, त्यसमा भारत, पाकिस्तानका ‘ए’ टिम सरहको टिम आउने प्रस्तावमा राखिएको छ । अन्य टिमको तय हुने बाँकी छ । असार १५ देखि त्यो प्रतियोगिता गर्न लागिएको छ । आयोजकले मौसमको तालिका हेरेर त्यो समयमा प्रतियोगिता गर्न लागेका छन्,’ विष्टले भने, ‘हामीले खेलाडीलाई प्रतिखेल १० हजार दिनुपर्छ भनेका छौं । त्रिवि मैदानमा उनीहरूले भाडा दिएर प्रतियोगिता गर्ने छन् । हामीले सुरक्षाप्रबन्ध मिलाई दिनुपर्छ ।’


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.