Everest Fuji News२०७३ चैत्र १७ मा प्रकाशितPublished at 2017 Mar 30
विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्येका एक अर्जेन्टिनी कप्तान लिओनल मेसीलाई ४ खेलमा प्रतिबन्ध लगाउने फिफाको निर्णय आलोचित बन्न थालेको छ। बार्सिलोनाका व्यवसायिक खेलाडीको समर्थनमा विश्वब्यापी माहोल बन्न थालेपछि फिफाको निर्णयको विषयमा प्रश्न उठ्न थालेको हो। विश्व कप छनोटअन्तर्गत बोलिभियाविरुद्धको खेलभन्दा साढे ५ घण्टा अगाडि ४ खेलमा प्रतिबन्ध लगाउने फिफाको निर्णय आफैंमा विवादित भएको धेरैको ठहर छ। फिफाको यो निर्णयले अन्तर्राष्ट्रिय फुटबललाई प्रभावित पार्ने पनि केहीको ठम्याई छ। अर्जेन्टिनालाई तीन वटा प्रमुख प्रतियोगिताको फाइनल पुर्याएका मेसीले गत वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए।
तर, उनी अर्जेन्टिनी राष्ट्रपतिको आग्रहमा पुनः राष्ट्रिय टोलीमा फर्किएका थिए। अहिले अर्जेन्टिना विश्व कप छनोटको गम्भीर मोडमा छ। दक्षिण अमेरिकी समूहबाट सिधै छनोट हुने माथिल्लो ४ स्थानमा अर्जेन्टिना समावेश छैन्। मेसीलाई प्रतिबन्ध लगाएपछि अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित भएको थियो। जसका कारण शीर्ष ३ स्थानबाट झरेर अर्जेन्टिना पाँचौ स्थानमा पुगेको थियो। दक्षिण अमेरिकी समूहमा पाँचौ स्थानमा रहेको टोलीले ओसियानासँग प्लेअफको म्याच खेल्न पाउने नियम छ। र, यस खेलमा विजयी हुने टोलीले विश्व कपको यात्रा तय गर्ने छ। तर, मेसीलाई ४ खेलमा प्रतिबन्ध लागेपछि अर्जेन्टिनाले पाँचौ स्थान कायम राख्ने सम्भावना कमजोर छ। किनभने मेसीको अनुपस्थितिमा विश्व कप छनोटको कमजोर सुरुवात गरेको अर्जेन्टिनालाई पछिल्लो ४ खेल जिताउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
अर्जेन्टिनाले विश्व कप छनोटअन्तर्गत बाँकीको ४ खेलमध्ये आउँदो खेल उरुग्वेसँग उसैको घरमा खेल्नु पर्नेछ। दोस्रो खेल भेनेजुएला र पेरुलाई आफ्नो घरमा आतिथ्य गर्दैछ भने अन्तिम खेल इक्वेडरविरुद्ध उसैको घरमा खेल्नु पर्नेछ। फिफाको प्रतिबन्धअनुसार मेसी इक्वेडरविरुद्ध १० अक्टुवरमा हुने छनोटको अन्तिम खेलमा मात्र उपलब्ध हुनेछन्।