ओखलढुंगामा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुँदै
Everest Fuji News२०७३ चैत्र १२ मा प्रकाशितPublished at 2017 Mar 25
ओखलढुंगा । १५ चैतदेखि ओखलढुंगाको गाम्नाङटारमा राष्ट्रियस्तरमा तीन दिने खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। पर्यटनको विकासका लागि ‘द युथ पावर नेपाल’ले आयोजना गर्न लागेको खेलकुद प्रतियोगितामा जिल्लाकै सर्वाधिक ठूलो राशीको पुरस्कार हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
१७ चैत्रसम्म सञ्चालन हुने सो प्रतियोगितामा काठमाडौंलगायत विभिन्न जिल्लाका १३ टोलीले सहभागिता जनाउने खेलकुद संयोजक विजय बस्नेतले जानकारी दिए।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन्।
यस्तै, तेस्रो हुने टोलीले ३३ हजार तीन सय ३३ रुपैयाँ र सान्त्वना हुने टोलीले ११ हजार एक सय ११ रुपैयाँ हात पार्नेछ। उत्कृष्ट खेलाडीले पाँच हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्।
विधागत उत्कृष्टतातर्फ उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर र डिफेन्सलाई नगद एक हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि गाउँमै होमस्टेको आयोजना गरिएको र उनीहरुले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्ने संयोजक बस्नेतले बताए।