Everest Fuji News२०७३ फाल्गुन २१ मा प्रकाशितPublished at 2017 Mar 04
पारिश्रमिक नपाएको भन्दै अर्जेन्टिनाका फुटबल खेलाडी हडतालमा गएका छन्। जसका कारण अर्जेन्टिनाको घरेलु फुटबल ठप्प भएको छ। खेलाडीको हडतालका कारण अर्जेन्टिनी फुटबल संघले शुक्रबार तय गरिएको पहिलो श्रेणीको फुटबल क्लबबीचको दुई वटा बेग्लाबेग्लै खेललाई स्थगित गरेको थियो। संघले समस्या समाधानका लागि खेलाडी युनियनलाई गुहारेको छ।
हडतालका कारण शुक्रबार रोसारियो र गुड्यो क्रुजबीच रोसारियोमा तय भएको तथा सान लोरेन्जो र बेल्ग्रानोबीच ब्युनोज आयर्समा हुने भनिएको खेल रोकिएको थियो। अर्जेन्टिनामा अहिले थुप्रै क्लबहरू आर्थिक समस्याबाट गुज्रिरहेका छन् र उनीहरूले केही महिनादेखि खेलाडीलाई तलब दिन सकेका छैनन्।
युनियनले खेलाडीहरूले बाँकीको रकम नपाउदासम्म हडताल जारी रहने जनाएको छ। हडतालमा २ सय क्लबका खेलाडीहरूको संलग्नता रहेको बताइएको छ। अर्जेन्टिनी फुटबलमा टेलिभिजन प्रसारणको रकममा गडबडी भएपछि समस्या उत्पन्न भएको थियो। संघका केही सिनियर पदाधिकारीले प्रसारण अधिकारबाट आएको रकम गडबडी गरेको आरोप लागेको थियो।
३५ वर्ष अर्जेन्टिनी फुटबल संघको अध्यक्ष रहेका जुलियो ग्रोन्डोनामाथि भ्रष्टाचारको आरोप लागेको थियो। उनको २०१४ मा निधन भएको छ। उनी फिफाको उपाध्यक्ष पनि थिए।
अमेरिकाको एफबिआईले फिफाको भ्रष्टाचारसम्बन्धी गरेको छानवीनमा ग्रोन्डोनालाई ‘नम्बर एक’ भ्रष्टाचारी बताएको थियो।