भोजपुर/
भोजपुर जिल्लाको रामप्रसादराई गाँउपालिका–२ को धोर्लेखानीमा एकजनाले श्रीमतीसहित चारजनाको हत्या गरेको प्रहरीले जनाएको छ ।
भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राई आफैंले हिजो राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्’ भनेर फोन गरेको बताएपछि घटनास्थलमा प्रहरी पुगेको बताउनु भएको छ । उहाँले अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हबल्दार नेतृत्वको टोली घटनास्थल पुगेको बताउनु भएको छ । घटनास्थल रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा प्रहरी पुग्दा राजेन्द्र राईका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी र उनका श्रीमती र सालोको शव फेला परेको थियो । प्रहरीले श्रीमती र सालो ‘अन्डर एज’ को भएको भन्दै नाम भने खुलाएको छैन । श्रीमती १६ वर्ष र सालो १० वर्षको रहेका छन् । राजेन्द्र राईलाई भने रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ । चार जनाको हत्या भएको ठाउँ र राजेन्द्र राई घाइते अवस्थामा फेला परेको ठाउँ ५ किलोमिटर दुरीमा रहेको प्रहरीले जनाएको छ । सो घटनाबारे प्रहरीले अनुसन्धान गरि रहेको समेत बताइएको छ ।।