सोलिडारिटी कप विजयी नेपाली फुटबल टोलीको विमानस्थलमा भव्य स्वागत (फोटो फिचरसहित)
Everest Fuji News२०७३ मंसिर २ मा प्रकाशितPublished at 2016 Nov 17
मलेसियामा सोलिडारिटी कपको उपाधि जितेर नेपाल फर्किएको राष्ट्रिय फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
राति पौने १० बजे फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई सयौंको संख्यामा उपस्थित समर्थकले स्वागत गरे । उनीहरुको स्वागत गर्न एन्फाका अधिकारीहरु पनि उपस्थित थिए ।
विमानस्थलमा उपस्थित यात्रु तथा तिनका आफन्तहरुले पनि खेलाडीहरुलाई हुटिङ गरेर स्वागत गरेका छन् । खेलाडीको स्वागतमा एन्फाले राति नै र्याली गरेको छ । नेपाली सेनाको चारवटा ट्रकलाई फूलले सजाएर विमानस्थल लगिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको र्याली गौशाला– बत्तिसपुतली– मैतीदेवी– पुतलीसडक– घण्टाघर–सहीद गेट–न्यूरोड– दरबार मार्ग– त्रिपुरेश्वर– थापाथली– कुपण्डोल– पुल्चोक– मंगलबजार– ग्वार्को हुँदै एन्फा कम्प्लेक्स पुगेको छ ।
विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै प्रशिक्षक राजु शाक्य र क्याप्टेन विराज महर्जनले आफूहरु खेल जित्ने आत्मविश्वासका साथ गएको बताए । उनीहरुले सोलिडारिटी कप जितेसँगै नयाँ ट्रयाकको सुरुवात भएको प्रतिक्रिया दिएका छन् ।