काठमाडौं/
नेपाल भलिबल संघको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठ ८ गतेदेखि पोखरामा आयोजना हुने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले सो जानकारी गराएको हो । सम्मेलनमा प्रतियोगिता जेठ ८ देखि १५ गततेसम्म पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताउनु भएको छ । उहाँले काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलको मर्मत कार्य भइरहेकाले यसपटक प्रतियोगिता पोखरामा गर्न लागिएको समेत बताउनु भएको छ । सो लिगमा महिलातर्फ ६ र पुरूषतर्फ ८ टोलीले प्रतिस्पर्धा गर्ने भएको छ । जसमा पुरूषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ । त्यस्तै महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिप टप न्यू डायमन्ड युथ स्पोट्र्स क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेशले खेल्नेछन् । दुवैतर्फ विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैंया प्राप्त गर्ने संघले जनाएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष चन्दले प्रतियोगिता सम्पन्न गर्न ९० लाख खर्च हुने अनुमान गरिएको बताउनु भएको छ ।