प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आउँदो फागुन २५ गतेदेखि शुरू हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ति जारी गरि प्रधानमन्त्री कप क्रिकेट फागुन २५ देखि चैत १६ गतेसम्म आयोजना हुने जनाएको हो । प्रतियोगिता लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको सिद्धार्थ रङ्गशाला र एक्स्ट्राटेक ओभल तथा दाङको लमही क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रधानमन्त्री कप क्रिकेटका सबै खेल पहिलो पटक काठमाडौबाहिर हुन लागेको हो । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० वटा टोली सहभागी हुनेछन् । सिद्धार्थ रङ्गशालामा फाइनलसहित १० वटा खेल हुनेछ यस्तै एक्स्ट्राटेक ओभलमा १५ र लमहीमा १४ वटा खेल हुने क्यानले जनाएको छ ।।