नेपालले नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको विजय हात पार्दै विश्वकप लिग-२ क्रिकेटमा लयमा फर्किएको छ । नेपालले शनिबार १ सय ३८ रनको लक्ष्य १५।२ ओभरमै १ सय ४१ रन बनायो ।
कुशल भुर्तेलले आक्रामक इनिङ्स खेल्दै नेपालको सुरुआत गरेका थिए । उनले ११ बल खेली २ चौका र ३ छक्का प्रहार गरी २८ रन बनाएका थिए । त्यसपछि आसिफ शेख र अनिल साहले ठूलो शटहरू खेलेपछि नेपालले १० ओभरमा १ सय रन जोडेर उत्कृष्ट सुरुआत गरेको थियो ।
आसिफ र अनिलले दोस्रो विकेटमा १ सय ५ रनको साझेदारी गरे । अनिलले आर्यन दत्तको बलमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले २९ बलमै अर्धशतक पूरा गरेका थिए । पछिल्ला चार खेलमा उनले तेस्रो पटक ५० रनमाथिको स्कोर बनाएका हुन् ।
अनिल ५७ र आसिफ ५४ रन बनाई क्रिजमा रहे । अनिलले कुल ३६ बल खेली ६ चौका र ४ छक्का तथा आसिफले ४५ बल खेली ८ चौका र १ छक्का प्रहार गरे । नेपालको आक्रामक ब्याटिङपछि नेदरल्यान्ड्सका अफ स्पिनर दत्तले ३ ओभरमा ४४ रन खर्चन पुगेका थिए ।
यसअघि नेपालले टस जितेपछि उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै ब्याटिङको निम्ता दिएको नेदरल्यान्ड्सलाई ३९ ओभरमा १ सय ३७ रनमा अलआउट गरेको थियो ।