युवतीलाई बलात्कार गरेको मुद्दामा क्रिकेटर लामिछाने दोषी ठहर , ८ वर्ष कैद सजाय, ३ लाख रूपैयाँ जरिवाना

Everest Fuji News २०८० पुष २५ मा प्रकाशित       Published at 2024 Jan 10


काठमाडौं /

क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको छ।अदालतले उनलाई ३ लाख रूपैयाँ जरिवाना पनि सुनाएको छ। जरिवाना बापतको ३ लाख र पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई ध्यानमा राखेर थप दुई लाख रूपैयाँ क्षतिपूर्ति गरी ५ लाख रूपैयाँ पीडित युवतीलाई भराउन आदेश भएको अदालतका प्रवक्ताले जानकारी दिए।

गत पुस १३ गते नै अदालतले एक युवतीलाई बलात्कार गरेको मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। १० वर्षभन्दा कम सजाय तोकिएको मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था पनि छ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ मा पुर्पक्षका लागि थुनामा नबसेको अवस्थामा १० वर्षसम्म कैद सजाय भएको कसुरदारले थुनामा नबसी पुनरावेदन दिने अनुमतिका लागि कारण खुलाई निवेदन गर्न सक्ने र त्यस्तो कारण मनासिव देखिएमा पुनरावेदन सुन्ने अदालतले अनुमति दिन सक्ने व्यवस्था छ। त्यसका लागि लामिछानेका कानुन व्यवसायी उच्च पुगिसकेका छन्।

गत वर्ष भदौ ५ गते युवतीलाई गौशालास्थित होटलमा लगेर बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । यससँगै उनी असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले गत कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर उच्च अदालतले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.