गण्डकी प्रदेशले १०औँ लामाचौर कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । निकै प्रतिस्पर्धात्मक फाइनलमा गण्डकीले नेपाल पुलिस क्लबलाई ३–२ सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगिताको मंगलबार भएको उपाधि भिडन्तमा पहिलो सेट पुलिसले २५–२३ ले जितेको थियो । दोस्रो सेट गण्डकीले २५–१९ ले जित्यो । तेस्रो सेट पुलिसले २५–२१ ले हात पार्यो । पुलिस त्यसपछिका दुई सेटमा पराजित हुँदा गण्डकीले उपाधि हात पारेको हो । गण्डकीले चौथो सेट २८–२६ र अन्तिम सेट १५–११ ले जितेको हो ।
यसअघि, सोमबार १–१ सेटको बराबरीपछि प्रकाशको कमीका कारण खेल मंगलबारका लागि सरेको थियो । गत वर्षसमेत यी दुवै टोली फाइनल पुगेकोमा वर्षाका कारण खेल हुन नसकेपछि पुरस्कार बाँडेर लिएका थिए । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा सम्पन्न प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित हुदै पाँच हजार पुरस्कार पाए ।गण्डकीका हरि पाण्डे बेस्ट ब्लकर, किरण गुरुङ बेस्ट स्पाइकर र रमेश केसी बेस्ट कोच घोषित हुँदा पुलिसका कुलबहादुर थापा बेस्ट सर्भर, अभिषेक थापा बेस्ट सेटर र भीम गाहा बेस्ट लिबेरो घोषित भएका थिए । यसअघि, प्रतियोगितामा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो । पुलिसले फाइनलमा न्यु डायमन्डलाई ३–१ सेटमा पाखा लगाएको थियो ।