काठमाडौँ — सगरमाथामा पहिलोपटक ७० किलोमिटर १८ औं तेन्जिङ हिलारी एभरेष्ट म्याराथन हुने भएको छ |
विश्वभर सर्वाधिक चासोका रुपमा हेरिने एभरेस्ट म्याराथनमा यसपटक ७० किलोमिटर लामो एक्स्ट्रीम अल्ट्रासहित तीन विधामा दौड प्रतियोगिता हुने भएको छ । आयोजक हिमालय एक्सीपीडीसनका अनुसार, विश्वकै अग्लो चुचुरो सगरमाथामा पहिलो मानव पाइला पुगेको ७० वर्षको अवसरमा यसपटक ७० किलोमिटर लामो एक्स्ट्रीम अल्ट्रा म्याराथन हुने भएको हो ।
सरगमाथा चुचुरोमा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सफल आरोहण गरेको मे २९ (जेठ १५) का दिन पहिलोपटक ७० किलोमिटर लामो म्याराथन आयोजना गर्ने घोषणा गरेको हो | यो कार्यक्रममा तेन्जिङ र हिलारीका सन्तानहरु पनि सहभागी हुँदै छन् ।
१८ औं एभरेस्ट म्याराथन संस्करण २०८० जेठ १५ गते सगरमाथा दिवसका दिन हुने छ । यो म्याराथन सगरमाथा आधार शिविरबाट सुरु भई नाम्चेबजारमा टुंगिने छ । ‘एभरेस्ट म्याराथनका संस्थापकसमेत रहेका पर्यटन व्यवसायी विक्रम पाण्डेका अनुसार उनीहरुले खुम्बु क्षेत्रमा विभिन्न मुलुकका राजदूतहरुसँगै लालीगुराँसका करिब ४ सय बिरुवा पनि रोप्ने कार्यक्रम तय भएको छ ।’ यस दौडमा विश्वचर्चित अल्ट्रा धावक नेपालकी मिरा राई र भारतको कालिङपोङकी अल्ट्राधावक रोशनी राईले सहभागीता जनाउने भएका छन् ।
आइतबार सानेपामा आयोजित कार्यक्रममा धावक मिरा राईले आफू पहिलोपटक संसारकै अग्लो स्थानमा हुन लागेको सर्वाधिक लामो म्याराथनमा सहभागी हुन लागेको जनाउँदै यस्ले विश्वको खेल पर्यटनको ध्यान खिच्न मद्यत पुग्ने बताइन् ।
यसैबीच हिमालय एक्स्पीडीसनले विगतका वर्षहरुमा झै ४२ र २१ किलोमिटरका फुल र हाफ म्याराथन पनि आयोजना गर्ने जनाएको छ । फलु म्याराथन विजेतालाई २ लाख र हाफम्याराथनलाई १ लाख रुपैयाँ राशीको नगद पुरस्कार दिइने छ । आयोजकले ७० किलोमिटर लामो एक्स्ट्रीम अल्ट्रा म्याराथनको पुरस्कार राशि केही दिनमै घोषणा गरिने जनाएको छ ।