Everest Fuji News २०७५ कार्तिक १२ मा प्रकाशित       Published at 2018 Oct 29


पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) सञ्चालन भइरहेको मैदानमा नेपालसँग खेल्नेबारे योजना बनाइरहेको यूएईका कप्तान रोहन मुस्तफाले बताएका छन् । पोखरा रंगशालामा भइरहेको पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजबाट खेलिरहेका मुस्तफाले माछापुच्छ्रे रेञ्जमा रहेको पीपीएल मैदान भव्य रहेको बताए । “पोखरामा नेपाल र युएईबीचको खेल भए निकै रोमाञ्चक हुनेछ”, उनले अगाडि थपे “हामी यहाँ आएर नेपालसँग खेल्नेबारे सोच्दैछु । मौका पाए आउँछौं ।” पोखराको सुन्दरतादेखि मोहित मुस्तफाले नेपालसँग पीपीएल मैदानमा खेल्न पाए उक्त खेल रोमाञ्चक हुनेसमेत बताए । उनले पोखरा रंगशालामा पीपीएलको शुरुआतदेखि नै पाएको दर्शकको साथले आफुलाई खुसी पारेको बताएका छन् । धनगढीका कप्तान सोमपाल कामीसँगको निकट सम्बन्धले नेपाल आएका मुस्तफाले भने,“कप्तान सोमपाल कामीसँगको मेरो सम्बन्ध राम्रो छ । उनले मलाई पनि सपोर्ट गर्छन् भने बुटबल ब्लास्टर्सको टिम पनि राम्रो छ ।” गएको सिजनको धनगढी प्रिमियर लिगमा पनि सोमपालको टिम धनगढी चौराहबाट खेलेका मुस्तफा प्लेयर अफ दि टुर्नामेन्ट भएका थिए भने पीपीएलमा पनि सोमपालसँगको सम्बन्धले नै उनी बुटबल ब्लास्टर्समा जोडिएका हुन् । पीपीएलमा पहिलो खेलमा शनिबार चितवन राइनोजविरुद्ध मुस्तफा शुन्य रनमै पवेलियन फर्किए भने दोस्रो खेलमा आइतबार उनले पोखरा पल्टनविरुद्ध राम्रो कमब्याक गर्दै अलराउण्ड प्रदर्शन गरे । उनले ब्याटिङमा ४५ रन बनाए भने बलिङमा २ विकेट लिदै टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले । आइतबारको खेलबारे उनले भने, “पहिलो खेलमा शून्य रनमै आउट हुँदा दबाब थियो । सागर पुन र चिराग सुरी जस्ता अनुभवी खेलाडी आउट भइसकेको अवस्थामा टोलीमा दबाब थियो । तर, राम्रो कमब्याक गर्न पाउँदा खुसी लागेको छ ।” मुस्तफाले पीपीएल र पोखराको बयान गर्दै भने, “यो निकै ठूलो प्रतियोगिात हो र मैदान पनि सुन्दर छ । विशेषगरी यहाँको दर्शक भव्य सहभागिताले अझै शोभा बढाएको छ । यहाँ धेरै राम्रा कुरा छन् ति मध्ये भव्य ठाउँ पनि हो ।”


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.