चार गोलदेखि १३ गोलसम्मलाई गोल्डेन बुट !

Everest Fuji News २०७५ असार २६ मा प्रकाशित       Published at 2018 Jul 10


मस्को- रुसमा जारी विश्वकपमा गोल्डेन बुट कसले जित्ला भन्‍नेबारे कौतुहलता बढ्दो छ। सर्वाधिक गोल गर्ने खेलाडीले पाउने यस अवार्डका लागि इङ्ल्यान्डका कप्तान समेत रहेका स्ट्राइकर हेरि केन सबैभन्दा अगाडि छन्।

उनले ६ गोल गरिसकेका छन्। इङ्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको पनि छ। केनका निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेका बेल्जियमका रोमेलु लुकाकुको चार गोल छ। फ्रान्सका एन्टोइन ग्रिजम्यान र केलिन एमबाप्पेको तीन तीन गोल छ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र रुसका डेनी चेरिसेभले चार चार गोल गरेपनि दुवैको टोली प्रतियोगिताबाट बाहिरिसकेको छ। केनले प्रतियोगितामा अझै गोल थप्‍न सक्ने सम्भावना छ। समूहका सुरुका दुई खेलमा पाँच गोल गरेका केनलाई तेस्रो खेलमा भने आराम दिईएको थियो। उनले प्रिक्वाटरफाइनलमा पनि गोल गरेका थिए। केनले चार गोल पेनाल्टीमा गरेका हुन्।

सेमिफाइनलमा फ्रान्स र बेल्जियम मंगलबार भिड्दैछन्। बुधबार इङ्ल्यान्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्दै छ। अघिल्लो विश्वकपमा कोलम्बिया क्वाटरफाइनलबाटै बाहिरिएपनि २२ वर्षीय स्ट्राइकर हामेस रोड्रिगुएजले गोल्डेन बुट जितेका थिए। उनले प्रतियोगितामा ६ गोल गरेका थिए।

विश्वकपमा सन् १९७८ पछि एक खेलाडीले मात्र एकै विश्वकपमा ६ गोलभन्दा बढी गोल गरेका छन्। सन् २००२ को विश्वकपमा ब्राजिलका रोनाल्डोका ८ गोल गरेका थिए। त्यसअघि सन् १९७४ को विश्वकपमा पोल्यान्डका जिगर्ज लाटोले सात गोल गरेयता लगातार ६ विश्वकपमा ६ गोल गर्ने खेलाडीले गोल्डेन बुट जितेका थिए। सन् २००६ र २०१० को विश्वकपमा पाँच पाँच गोल गर्ने खेलाडीले गोल्डेन बुट जितेका थिए।

विश्वकपको एकै संस्करणमा एउटै खेलाडीले १३ गोलसम्म गरेका छन्। सन् १९५८ को विश्वकपमा फ्रान्सका जस्ट फोन्टाइनले १३ गोल गरेका थिए। त्यसभन्दा अघिल्लो संस्करणमा हंगेरीका सान्दोर कोक्सिसले ११ गोल गरेका थिए। सन् १९३० मा आयोजित पहिलो विश्वकपमा अर्जेन्टिनाका गुलेर्मो स्टाबिलले सर्वाधिक ८ गोल गरेका थिए।

विश्वकप इतिहासमा चारपटक मात्र विश्वकप जित्ने टोलीका खेलाडीले चारपटकमात्र गोल्डेन बुट जितेका छन्। सन् १९६२ मा पहिलोपटक विश्वकप विजेताका खेलाडीले गोल्डेन बुट जितेका थिए। त्यतिबेला विजेता ब्राजिलका गरिन्चा र भाभासहित चिलीका लियोनल सान्चेज,हंगेरीका फ्लोरियान अल्बर्ट,रुसका भ्यालेन्टिन इभानोभ र युगोस्लाभियाका ड्राजन जार्कोभिचले चार गोल गरेका थिए।

सन् १९७८ मा विजेता अर्जेन्टिनाकै मारियो केम्पेसले ६ गोलसहित गोल्डेट बुट जितेका थिए। सन् १९८२ मा विजेता इटालीका पाओलो रोस्सीले पनि ६ गोलसहित गोल्डेन बुट हात पारेका थिए। पछिल्लोपटक सन् २००२ मा विजेताकै खेलाडीले गोल्डेन बुट हात पारेका थिए। त्यतिबेला ब्राजिलका रोनाल्डोले ८ गोलसहित उक्त अवार्ड हात पारेका थिए।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.