स्पेनलाई डिफेन्सको चिन्ता, खेलाडी भन्छन् : यस्तै हो भने हामी जित्दैनौं

Everest Fuji News २०७५ असार १५ मा प्रकाशित       Published at 2018 Jun 29


समूह चरणमा पोर्चुगलसँग तीन/तीन गोलको बराबरी गरेको स्पेनले इरानलाई १-० ले हराएको थियो भने मोरक्कोसँग दुई/दुई गोलको बराबरी खेलेको थियो । एउटा सानो गल्तीले स्पेनिस टिमलाई समूह चरणबाटै फर्काइदिन सक्थ्यो ।

 

Sorry डिफेन्डर ड्यानी कार्भाजलले स्पेनको डिफेन्स लाइनमा देखिने समस्याका बारेमा सोधिएको प्रश्नमा सामान्य गल्तीहरु भएको मात्रै बताए । उनले सामान्य भनेकै गल्तीमा पनि स्पेनका प्रशिक्षक फर्नान्डो हिरेरो भने चिन्तित देखिएका छन् । विश्वकप छनोट चरण र त्यसपछि भएका मैत्रीपूर्ण खेलमा स्पेनले जे गरेको थियो त्यो लय विश्वकपमा देखिँदैन ।

‘डिफेन्समा हामीले एकाग्रता गुमाउँदा भएको गल्तीहरु हो । पोर्चुगलले गरेका दुई गोल त पेनाल्टी र फ्रीकिक थियो । त्यो दुवै हाम्रो असावधानीले भएको थियो ।

अब हामी व्यक्तिगत कमजोरीहरु हेरेर सुधार गर्नेछौं’ कार्भाजलले भने, ‘अगाडि पुग्ने हो भने हामीले डिफेन्समा देखिएको गल्तीलाई सुधार्नै पर्छ । विपक्षीहरुलाई हामीविरुद्ध गोल गर्न सहज भएको उनीहरु राम्रो भएर भन्दा पनि हामीले गरेको गल्तीका कारण हो । यस्तो अवस्था फेरिनै पर्छ ।’

जेरार्ड पिके, सर्जिओ रामोस, जोडी अल्बा, कार्भाजल, नाचो फर्नान्डेजजस्ता क्लब फुटबलका उत्कृष्ट डिफेन्स लाइन हुँदा हुँदै पनि सामान्य गल्ती दोहोरिरहेको छ ।

‘हामी अहिलेकै अवस्थामा अगाडि बढेर गोल बचाउन सक्दैनौं । यसरी त हामी जित्नै सक्दैनौं’ अर्का खेलाडी इस्कोले फिफासँग भनेका छन्, ‘हामीले खेल आˆनो पकडमा राख्न खोज्दा गल्ती भएका छन् । खेल आˆनो पक्षमा पार्न नै पनि हामी संघर्षरत छौं । हामी हाम्रै विशेषतामा पछि परेका छौं ।’

प्रशिक्षक हिरेरो पनि खेलाडीहरुको सामान्य गल्तीलाई नियालिरहेका छन् । अहिले भएको खेलमा धेरै नै सुधार हुनुपर्ने उनको बुझाइ छ । ‘हामीले तीन खेलमा नै पाँच गोल खाएका छौं । यो हाम्रो फुटबल शैली नै होइन । यसरी त हामी कहिँ पुग्दैनौं । मैले खेलाडीहरुलाई पनि यही कुरा बारम्बार भनिरहेको छु’ उनले भने ।

विश्वकपमा अन्तिम १६ को खेलमा आयोजक रसियाविरुद्ध खेल्दा डिफेन्स नसुधि्रने हो भने स्पेनिस टिम निराश बन्न सक्छन् । रसियाले समूह चरणका तीन खेलमा आठ गोल गरेको थियो भने चार गोल खाएको थियो ।

डिफेन्स लाइनको सुधार सँगै प्रशिक्षक हिरेरो रसियाविरुद्ध खेल्ने सुरुवाती ११ मा पनि केही परिवर्तन गर्न खोजिरहेका छन् । आइतबार बेलुका पौने ८ बजे हुने खेलमा कोकेलाई सुरुवातमै ल्याउने तयारी उनको छ ।

कोकेले रसियन स्ट्राइकरलाई मिडफिल्डमै रोक्न सक्ने र त्यसले डिफेन्स लाइन बलियो हुने विश्वास हिरेरोको छ ।

डेभिड सिल्भाले आश गरेअनुरुप खेल देखाउन नसकिरहेकाले उनको स्थानमा मार्को एसेन्सियोलाई सुरुदेखि नै खेलाउने तयारी पनि प्रशिक्षक हिरेरोले गरिरहेका छन् ।

गोलकिपर डेभिड डेगाले गरेका सामान्य गल्ती सुधार हुनै पर्ने र टिमले उनीमाथि विश्वास राखेको प्रशिक्षक हिरेरोको भनाई छ ।

मोरक्कोविरुद्ध खाएका गोल गोलकिपरकै कारण भन्दा पूरा टिमको गल्ती देखिएकोले किपरले आगामी खेलमा सुधार गर्ने अपेक्षा उनले गरेका छन् ।

२०७५ असार १५ गते १७:३६ मा प्रकाशित #विश्वकप २०१८

(अनलाइनखबर)



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.