Everest Fuji News२०७५ असार ६ मा प्रकाशितPublished at 2018 Jun 20
विश्वकप फुटबलमा जापान अहिले २० वर्षको युवा जस्तै छ । सन् १९९८ देखि विश्वकप खेल्न थालेको जापानले करिब २ दशकपछि आफ्नो पहिलो खेलमा नै जित हात पार्दै ऐतिहासिक उपलब्धि प्राप्त गरेको हो ।
जापानले मंगलबार अनपेक्षित नतिजा हात पार्यो । समूह एचमा रहेको जापानले बलियो प्रतिद्वन्द्वी कोलम्बियालाई २–१ गोलअन्तरले पराजित गर्दै ऐतिहासिक सफलता पाएको हो ।
जापान एसियाको अब्बल टिम हो तर, विश्वकपमा भने सधैँ कमजोर टिमको उपनामले परिचित हुँदै आएको जापानको प्रदर्शनले एउटा नयाँ तरंग ल्याएको छ ।
ठूलो उपलब्धि
जापानले अहिलेसम्म खेलेको खेलमा जित हात पार्न सकेको थिएन । सन् २०१४ को विश्वकप फुटबल एकै समूहमा परेको जापान कोलम्बियासँग ४–१ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । २००३ मा भएको मैत्रिपूर्ण खेलमा कोलम्बियासँग जापान १—० गोल अन्तरले पराजित भएको थियो भने २००७ कोलम्बियालाई जापानले गालरहति बराबरीमा रोकेको थियो ।
त्यसो त, सधै हावी हुँदै आएको कोलम्बिया जापानमाथि सहज जित निकाल्ने कुरामा विश्वस्त थिए । किनभने सन् २०१४ को विश्वकप फुटबलमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका जेम्स रोड्रिगुएजलाई बेन्चमै राखेका थिए । रोड्रिगुएज खेलको ५९औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए तर, जापानविरुद्ध उनको केही जादु चलेन ।
जापानसँग हार्नुको मुख्य कारण सुरुवाती समयमै १० जना खेलाडीमा सीमित हुनु परेको कोलम्बियन प्रशिक्षक पेकरम्यान जोसले बताएका छन् । उनले जापानलाई हल्कातरिकाले लिनु नै गल्ति भएको स्वीकारे । फिफा बरियताको १६ औं स्थानमा रहेको कोलम्बिया ६१औं स्थानमा रहेको जापानसँग हार्नुको मुख्य कारण कोलम्बियन खेलाडीमा धेरै आत्मविस्वासी भएको विश्लेषक बताउँछन् ।
जापानको जितमा सबै खेलाडीले उतिकै बहादुरी देखाए । तर, कोलम्बियाविरुद्ध भने नायक बने युवा ओसाको । १–१ गोलको बराबरी भएको अवस्थामा खेलको ७३औं मिनेटमा सुन्दर हेडर गोल गर्दै ओसाकोले जापानलाई जित दिलाएका थिए ।
जापानले सुधार्यो धमिलो इतिहास
जापानले सन् १९९८ देखि अहिलेसम्म लगातार विश्वकप खेल्दै आएको छ । तर यसअघिका सबै विश्वकपको समूह चरणको पहिलो खेलमा जापान पराजित हुदै आएको थियो । तर, जापानले त्यो आफ्नो खराब इतिहासलाई परिवर्तन गरेको छ ।
फ्रान्समा सम्पन्न सन् १९९८ को विश्वकपमा जापान समूह एच मा परेको थियो भने जापानले सबै खेलमा पराजित हुदै समूह चरणबाटै बाहिरिएको थियो ।
सन् २००२ र २०१० को विश्वकपमा जापान प्रिक्वाटरफाइनलमा पुगेको थियो । यद्यपि सन् २००२ मा टर्कीसँग १—० र सन् २०१० मा पाराग्वेसँग टाइब्रेकरमा ५—३ ले पराजित भएपछि अन्तिम १६ बाटै बाहिरिएको थियो । त्यस्तै, २००६ र २०१४ को विश्वकपमा भने जापानले समूह चरणमा खेलेका सबै खेल हारेको थियो ।
अहिलेसम्मको इतिहासमा जापानले पहिलो खेलमा नै जित हात पारेको यो पहिलो पटक हो ।
समूह एच मा रहेको जापानले अब सेनेगल र पोल्याण्डसँग खेल्न बाँकी छ । जापानको अहिले ३ अंक छ । अबको बाँकी दुई मध्ये १ खेलमा जित हात पारेपनि जापानको विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बन्नेछ ।