क्रिकेटमा पाएको अपूर्व सफलतापछि विश्वभर नेपालको चर्चा चुलियो

Everest Fuji News २०७४ चैत्र २ मा प्रकाशित       Published at 2018 Mar 16


क्रिकेटमा नेपालले पाएको अपूर्व सफलतापछि विश्वभर नेपाल र नेपाली क्रिकेटको चर्चा चुलियो, खेलाडीले दिलाएको सफलता बचाउने दायित्व राज्यमाथि थपियो काठमाडौं । विश्वले दक्षिण एशियालाई सम्मानको नजरले हेर्ने माध्यम हो– क्रिकेट । यही भूगोलभित्र समेटिएर पनि त्यो नजरबाट चुकेको नेपालले अहिलेसम्मकै ठूलो उपलब्धी प्राप्त गरेको छ ।   नेपाली क्रिकेटरले मुलुकलाई अपूर्व उपहार दिँदै गर्दा नेपाल र नेपाली क्रिकेटको चर्चा विश्वभर चुलिएको छ । क्रिकेटमा एक दिवशीय मान्यता पाउनुजस्तो स्वादिलो पक्ष नेपालले हात पार्दा राज्यमाथि दायित्व पनि थपिएको छ । अन्तर्राष्ट्रिय स्तरमा प्रवेश गरेको २२ वर्षमा निकै उतार–चढाव व्यहोरे पनि क्रिकेटले नेपालीलाई बेला–बेलामा खुसी हुने बहाना दिइरहेको छ । जस्तो– विहीवार नेपालले एक दिवशीय मान्यता पायो । नेपालले अहिलेसम्म प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि हो आइसिसीको एकदिवशीय मान्यता । सन् २००८ मा डिभिजन–५ मा रहेको नेपालले १० वर्षको बीचमा एकदिवसीय मान्यता हासिल गरेको हो । नेपालले पाएको यो मान्यता अस्थायी हो । अर्थात् सन् २०१८ देखि २०२२ सम्म कायम रहन्छ । नेपाली क्रिकेटको २२ वर्ष – सन् १९९६ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा एसोसिएट टिमको मान्यता/औपचारिक क्रिकेट खेल्न सुरु – सन् २००८ : आइसीसी विश्व क्रिकेट लिग डिभिजन–५/तेस्रो स्थान – सन् २०१० : डिभिजन–५ /च्याम्पियन – सन् २०१० : डिभिजन–४/तेस्रो स्थान – सन् २०१२ : डिभिजन–४ /च्याम्पियन – सन् २०१३ : डिभिजन–३ /च्याम्पियन – सन् २०१३ : एकदिवसीय विश्वकप छनोटमा स्थान – सन् २०१४ : टी–२० इन्टरनेसनलको मान्यता – सन् २०१५ : डिभिजन–२/ मा चौथो हुँदै विश्व क्रिकेट लिग च्याम्पियनशीपमा स्थान – सन् २०१८ : डिभिजन–२ /मा दोस्रो हुँदै एकदिवशीय विश्वकप छनोटमा स्थान – सन् २०१८ : विश्वकप छनोटमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त एक दिवसीय मान्यतासँगै नेपाली क्रिकेटमा अबसरका थप ढोका खुलेको छ । सँगै चुनौती पनि । आफ्नो एकल बलबुतामा प्राप्त यो उपलब्धिलाई टिकाइ राख्ने जिम्मेवारी अव खेलाडीको होइन राज्यको हो । त्यसका लागि पहिलो र अनिवार्य शर्त हो क्रिकेटमा भइरहेको ‘राजनीति’को अन्त्य । राजनीतिक हस्तक्षेप नगर्ने प्रत्याभूतिसहित क्यानको निलम्बन फुकुवामा सरकारले संयोजनकारी भूमिका निर्वाह गर्नु पहिलो र अनिवार्य सर्त हो । क्यानको निलम्बन फुकुवा भएन भने नेपाली क्रिकेट जहाँ पुगेपनि त्यसको ‘नियन्त्रण’ आइसीसीमै रहनेछ । पूर्वाधार विकाससहित क्रिकेटको घरेलु संरचना बलियो बनाउने दायित्व पनि राज्यकै हो । एक दिबशीय मान्यता पाएसँगै अब नेपाली खेलाडीको ‘रेकर्ड’ ‘लिस्ट–ए’बाट माथि उक्लिने छ । वल्र्ड क्रिकेट लिगसँगै चार दिनको इन्टरकन्टिनेन्टल कप, एसिया कपजस्ता ठूलो प्रतियोगितामा नेपाल सहभागी हुने छ । यस्तै, एक दिवसीय मान्यता पाउने टिमले आइसीसीबाट वार्षिक ७ करोडसम्म सहयोग पाउनेछ । यो रकमबाट स्तरीय विदेशी प्रशिक्षक ल्याउन, खेलाडीलाई नियमित सुविधा दिन र अभ्यास खेलका लागि विदेश भ्रमण गर्न सहज हुन्छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.