‘अक्सफाम १ सय किमी ट्रैल रन’ मा टिम नेपालले सहजै विजय हासिल गरेको छ।

शुक्रबार बिहान ८ बजे हङकङको साईकुङस्थित पाक ताम चुङबाट शुरु भएको सो दौड प्रतियोगिता पो लेङ कुक ताईतोङ हलिडे क्याम्प युन लोङमा पुगेर समाप्त भएको थियो।
उक्त दौड टिम नेपालले १२ घन्टा १ मिनेटको समयमा पूरा गरी प्रथम भएको हो।
यो टिममा समीर तामाङ, पुर्ण तामाङ, तीर्थ तामाङ, बेद सुनुवार छन्। गत बर्ष यही टिमले ११ घन्टा १ मिनेटमा उक्त दुरी छिचोलेको थियो।
यो टिम नेपालको ‘ब्याक टु ब्याक’ जित हो। चार जनाको अहिले सम्मको कीर्तिमान १० घन्टा ५८ मिनेटको रहेको छ।
दौडमा शुरुबाटै लिड गरेको टिम नेपाललाई प्रतिद्वन्दीहरुले कुनै कुनै दवाब सिर्जना गर्न सकेनन्।
तर, गत बर्षको रेकर्ड भन्दा एक घन्टा बढि समयमा मात्र नेपाली टिमले सो दुरी छिचोल्न सक्यो।
‘किन यस्तो? नेपालखबरको प्रश्नमा टिम क्याप्टेन पूर्ण तामाङले भने, ‘जसरी पनि जित्ने हाम्रो ‘स्ट्राटेजी’ थियो। जित निकाल्यौं, यही नै हाम्रो उपलब्धि हो।’
अझ राम्रो गर्न सकिने अवस्था भएपनि अत्याधिक गर्मीका कारणले ‘पर्फर्मेन्स’ मा बाधा पुगेको उनले बताए।
हुनपनि प्रतियोगिताको त्यहाँको तापक्रम समय २७ डिग्री सेल्सियस थियो।
स्मरणीय छ, टिम नेपाली सेनाको नेपाल त्रिभुवन आर्मी क्लबसँग सम्बद्ध छ भने 'आउटडोर एक्टिभिटिज' का लागि तयारी पोशाक बनाउने अवू कम्पनीले धावकहरुलाई स्पोन्सर गरेको थियो।
सन् १९८६ बाट अक्सफाम हङकङले आयोजना गर्दै आएको यो दौडको ‘स्लोगन’ ‘हामी ट्रैलवाकर हौं’ भन्ने थियो।

१ सय किलोमीटर लामो म्याकलेहोज ट्रैलको दौडमा ५ हजार २ सय धावकहरुले भाग लिएका थिए।
उक्त दौडमार्फत् आयोजक पक्षले ३६ मिलियन हङकङ डलर उठाउने लक्ष्य राखेको छ।
सन् १९४२ मा बेलायतमा स्थापित यो अन्तर्राष्ट्रिय च्यारिटेबल सस्थाले विश्वमा गरीबी उन्मूलन, आपतकालीन राहत सेवा, कानुनी वकालत, नीति अनुसन्धान जस्ता क्षेत्रमा काम गर्दै आएको छ।
यो दौड प्रतियोगिता सन् १९८१ मा बृगेडियर मार्भिन लिले बृटिस आर्मी अन्तर्गत् ‘बृगेड अफ गोर्खाज्’ को ‘क्वीन्स गोर्खा सिग्नल्स’ का लागि जङ्गल तालिमको रुपमा सुरुवात गरेका थिए।
सन् १९८६ मा अक्सफामलाई सह आयोजक बनाएर सर्वसाधारणलाई समेत खुल्ला गरिएपछि यसको लोकप्रियता व्हात्तै बढेको हो। यो प्रतियोगिता अन्तर्गत एघार देशमा १५ दौडहरु सन्चालन हुने गर्दछ।
सन् १९९७ मा बृटिसले हङकङ चीनलाई हस्तान्तरण गरेपछि गोर्खा सैनिकहरु बेलायत स्थानान्तरित गरिए।
त्यसपछि गोर्खाहरुको अनुपस्थितिमै अक्सफामले यो ट्रैल रनलाई निरन्तर दिईरहेको छ।
सन् १९८६ यता एक लाख भन्दा बढिले सहभागिता जनाएको यो प्रतियोगिताबाट साँढे पाँच सय मिलियन हङकङ डलर संकलन भइसकेको छ।