पीएसजी र बायर्न नकआउट चरणमा, बार्सिलोना र युभेन्टस बराबरीमा

Everest Fuji News २०७४ कार्तिक १६ मा प्रकाशित       Published at 2017 Nov 02


लन्डन : युरोपियन च्याम्पियन्स लिग फुटबलको बुधबार खेलिएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ठूलोअन्तरको जितसँगै नकआउट चरणमा प्रवेश गरेको छ । स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस भने आआफ्ना प्रतिद्वन्द्वीसँग बराबरीमै रोकिएका छन् । इङ्लिस क्लब चेल्सीले पराजय व्यहोरेको छ । घरेलु मैदानमा भएको खेलमा रक्षक लेभिन कुर्जावाले ह्याट्रिक गरेपछि पीएसजीले बेल्जियमको एन्डरलेचलाई ५-० गोलले हरायो ।यसैगरी स्कटिस च्याम्पियन सेल्टिकलाई २-१ गोलले पराजित गर्दै जर्मन क्लब बायर्न पनि समूह ‘बी’ बाट नकआउट चरणमा पुग्यो । अग्रपंक्तिका स्ट्राइकरद्वय एडिन्सन काभानी र नेमार प्राप्त अवसरलाई गोलमा परिणत गराउन असफल भइरहँदा रक्षक कुर्जावाले ह्याट्रिक गर्दै पीएसजीलाई सानदार जित दिलाए । पहिलो हाफको इन्जुरी समयमा एक गोल गर्दै पीएसजीको अग्रता २-० मा पुर्‍याएका नेमार अन्य अवसरमा भने गोल गर्न चुकेका थिए । गत सिजन टोलीका लागि सर्वाधिक गोलकर्ता र यो सिजन १५ गोल गरिसकेका काभानीले पनि प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनन् । खेलमा तीन अवसर पाएका कुर्जावाले तीनै अवसरलाई सदुपयोग गरे । ‘यो ह्याट्रिकले मलाई निकै खुसी दिएको छ’, कुर्जावाले भने, ‘मैले यसअघि पनि गोल गरेको छु तर, तीन गोल गरेको थिइन ।’ कुर्जावाले ५२औं, ७२औं र ७८औं मिनेटमा गोल गरेका थिए। यसैगरी समूह ‘बी’ अन्तर्गतकै अर्काे खेलमा जाभी मार्टिनेजले ७७औं मिनेटमा निर्णायक गोल गर्दै बायर्नलाई प्रतियोगिताको नकआउट चरणमा पुर्‍याए । खेल १-१ को बराबरीतर्फ अघि बढिरहेको अवस्थामा हेडिङमार्फत गोल गर्दै मार्टिनेजले टोलीको जित सुनिश्चित गरेका थिए । त्यसअघि खेलको २२औं मिनेटमा कोमानले नै बायर्नलाई १-० ले अघि बढाएका थिए । ७४औं मिनेटमा सेल्टिकका कलुम म्याकग्रेगोरले जवाफी गोल गरेका थिए । उक्त समूहबाट पीएसजी र बायर्नको नकआउट चरणमा प्रवेश गरे भने सेल्टिक र एन्डरलेच उपाधि होडबाट बाहिरिए । बार्सिलोना भने ग्रिसको ओलम्पियाकससँग गोलरहित बराबरीमा रोकियो । युभेन्टसले पनि पोर्चुगिज क्लब स्पोर्टिङसँग १-१ गोलको बराबरी खेल्यो । चेल्सीलाई इटालियन क्लब एएस रोमाले ३-० गोलले हरायो । ग्रिसमा भएको खेलमा घरेलु टोलीका गोलरक्षक सिल्भियो प्रोतोले लियोनल मेसीको प्रहार बारम्बार असफल बनाउँदा बार्सिलोना जितबाट वञ्चित भयो । १० अंक बनाएको बार्सिलोना समूह ‘डी’ को शीर्ष स्थानमा छ । समान खेलबाट सात अंक बटुलेको युभेन्ट्स दोस्रो स्थानमा छ। ओलम्पियाकसका गोलरक्षक प्रोतोले मेसीको पाँचवटा उत्कृष्ट प्रहारलाई विफल पारेका थिए । बार्सिलोना च्याम्पियन्स लिगको समूहगत चरणको खेलमा गोलरहित बराबरीमा रोकिएको पछिल्लो पाँच वर्षयता यो पहिलोपटक हो । जारी प्रतियोगितामा पनि बार्सिलोनाले पहिलोपटक अंक बाँडेको हो । ओलम्पियाकसले भने लगातार तीन खेलमा पराजय व्यहोरेपछि बार्सिलोनासँग अंक खोसेको हो । युभेन्ट्सलाई पनि अंक जोगाउन निकै मुस्किल भयो । स्ट्राइकर गोन्जालो हिग्वेनले खेलको अन्त्यतिर बराबरी गोल गरेपछि मात्र युभेन्टस पराजयबाट जोगिएको थियो । हिग्वेनले ७९औं मिनेटमा हुवाँ क्वाड्राडोले मिलाएको बललाई डीबक्स भित्रबाट फ्लिक गर्दै गोलमा परिणत गराएका थिए । बराबरीको नतिजाले युभेन्टसको समूह ‘डी’ मा दोस्रो स्थान बलियो बनेको हो । त्यसअघि खेलको २०औं मिनेटमै घरेलु टोली स्पोर्टिङले अग्रता बनाएको थियो । गेल्सन मार्टिनको प्रहार युभेन्टसका गोलरक्षक जियनलुइगी बुफोनको हातमा लागेर फर्किएपछि सोही अवस्थाको फाइदा उठाउँदै ब्राजिलियन मिडफिल्डर ब्रुनो सेसरले गोलमा गरेका थिए । यद्यपि दोस्रो हाफमा केही सुधारिएको खेल पस्कँदै युभेन्टस खेललाई बराबरीमा फर्काउन सफल भयो । इङ्लिस च्याम्पियन चेल्सीले भने निराशाजनक प्रदर्शन गर्‍यो । रोमासँग पराजित भएसँगै चेल्सीले नकआउट चरण प्रवेशका लागि बाँकी दुई खेलमा अझ मेहनत गर्नुपर्ने भएको छ । रोमाका लागि स्टेफन एल सारवीले दुई र डिएगो पेरोट्टीले एक गोल गरे । समूह ‘सी’अन्तर्गतको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड अजरबैजानको क्वाराबागसँग १-१ गोलको बराबरी रोकियो । उक्त नतिजापछि एट्लेटिकोको नकआउट चरणमा पुग्ने सम्भावना पनि कमजोर बनेको छ । अर्को इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले भने पोर्चुगिज क्लब बेनफिकालाई २-० गोलले हरायो । जितसँगै म्यान युनाइटेडले नकआउट चरण प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । समूहगत चरणको बाँकी दुई खेलबाट एक अंकमात्र जोड्न सके पनि म्यान युनाइटेड समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्नेछ । म्यान युनाइटेडले पहिलो गोल आत्मघाती रूपमा उपहार पाएको थियो भने दोस्रो गोल पेनाल्टीमार्फत सम्भव बनाएको थियो । नेमान्जा माटिचले ४५औं मिनेटमा गरेको लामो दूरीको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । सोही बल बेनफिकाका गोलरक्षक माइल सिभलरको ढाडमा ठोक्किएर गोलमा परिणत हुँदा म्यान युनाइटेड १-० ले अगाडि बढेका थियो । त्यसअघि १५औं मिनेटमा सिभलरले एन्थोनी मार्सलको पेनाल्टी प्रहारलाई असफल बनाएका थिए । ७८औं मिनेटमा प्राप्त पेनाल्टी प्रहारको अवसरलाई रक्षक डेली ब्लाइडले गोलमा परिणत गरेपछि म्यान युनाइटेड विजयी भएको थियो । सोही समूहको अर्काे खेलमा रूसी क्लब सीएसकेए मस्कोले स्विट्जरल्यान्डको एफसी बासेललाई २-१ गोलले हरायो । मस्कोले पनि उपविजेताका रूपमा नकआउट चरण प्रवेश गर्ने सम्भावना जीवितै राखेका छ । समूह ‘ए’ मा म्यान युनाइटेडपछि मस्को र बासेल दुवैको ६÷६ अंक छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.