एनआरएनए जापानको निर्वाचन प्रक्रिया रद्द गर्न उम्मेदवारहरुको माग, निर्वाचनको पारदर्शीतामाथि उठ्यो प्रश्न

Everest Fuji News २०७४ भदौ २० मा प्रकाशित       Published at 2017 Sep 05


टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति चयनका लागि यही ३ सेप्टेम्बरमा सम्पन्न भएको निर्वाचनको विश्वसनियता माथि प्रश्न उठाउँदै उम्मेदवारहरुले नै नयाँ निर्वाचनको मिति तोक्न माग गरेका छन् । मंगलवार २० उम्मेदवारहरुले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचनको विधि र प्रक्रियामाथि प्रश्न उठाएका हुन् । उपाध्यक्षदेखि सदस्यसम्मका प्राय सबै उम्मेदवारहरुले निर्वाचनको मत परिणाममाथि आशंका व्यक्त गरेका हुन् । उनीहरुले निर्वाचन समितिले जानी जानी प्रविधिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । निर्वाचन समितिले बनाएको निर्वाचन संहितामा एउटा आइपीबाट बढीमा पाँच मत हाल्न पाउने व्यवस्था गरिएको तर, समितिले एउटै आइपीबाट हालिएका सयौं मत सदर गरेको भन्दै समितिमाथि नै छानबिन गर्न माग गरेको छ । एनआरएनए जापानको कार्यसमितिमा उम्मेदवार रहेका जगतबहादुर खड्काको समेत अरुले नै मतदान गरि दिएको तथ्य प्रस्तुत गर्दै उम्मेदवारहरु विरोधमा उत्रिएका हुन् । निर्वाचन शिक्षाको अभाव, प्रविधिको दुरुपयोग लगायतका कारणले वास्तविक मतदाता चुनावको दिन अन्यौलपूर्ण अवस्थामा रहेको भन्दै उनीहरुले मतदाता स्वयं उपस्थित भएर मत हाल्ने गरि व्यवस्था मिलाउन माग गरेका छन् । उनीहरुले सयौं साधारण सदस्यहरुले समेत आफुले मतदान गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाइसकेको अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण निर्वाचन प्रक्रिया बदर भएको घोषणा गर्न माग गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घले, महासचिव बद्री केसी, एसिया प्रशान्त क्षेत्रीय समितिका संयोजक किरणबिक्रम थापा, निर्वाचन समिति लगायतलाई बोधार्थ गराउँदै जारी गरिएको विज्ञप्तिमा उपाध्यक्ष पदका उम्मेदवारहरु द्रोण सिलवाल, छत्र दाहाल, जीवन न्यौपाने, सचिव पदका उम्मेदवार बाशुदेव लामिछाने, सदस्य पदका उम्मेदवार कुमार कार्की, उत्तमकुमार श्रेष्ठ, नरेशराज सापकोटाले हस्ताक्षर गरेका छन् । यस्तै सोमनाथ लम्साल, जगतबहादुर खड्का, दिनेश लोहनी, बिक्रम खत्री, डिल्लीराम शिवाकोटी, स्मृति आचार्य (गिता), डिला गैरे, दयाराम खरेल, सुरेश रेग्मी, राजु पनेरु, अस्मिता वाईवा, टिकाराम कँडेल र चेतराम गैरेले पनि हस्ताक्षर गरेका छन् । क्षेत्रीय समितिबाट समेत निर्वाचन प्रक्रियाको विरोधहरु बाहिरिन थालेका छन् ।          


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.