टोकियो, जापान ।
जापानमा सम्भवत पहिलो पटक नेपाली व्यवसायी बिनोद शेरचनले सप्लिमेन्ट तथा व्युटि प्रडक्ट उत्पादनमा ठूलो लगानी सहित भव्य शो रुमको उद्घाटन गरेका छन् ।
राजधानी टोकियोको र्योगोकुमा एचएसबी कम्पनीले किरा लाबो ब्राण्डका उत्पादनहरुको शो रुम, व्युटिसियन तथा सैलुन तालिम, सेमिनार हल सहितको ६ तले भवनबाट सेवा प्रारम्भ गरेको छ ।
नेपाली व्यवसायी बिनोद शेरचनले एचएसबी जापान कम्पनी अन्तर्गत विश्वव्यापी बजार विस्तारको लक्ष्य सहित किरा लाबो ब्राण्डमा सप्लिमेन्ट तथा व्यूटि प्रडक्टहरु उत्पादन र विक्रि सुरुवात गरिएको जानकारी दिनुभयो ।
सेवा सुरुवात उद्घाटनका अवसरमा एनआरएनए आईसिसिका उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नविन न्यूरे, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजेश थकाली लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
करिव २० करोड लगानीमा सुरु गरिएको शत प्रतिशत जापानमा बनेको उच्च गुणस्तरिय लाभो ब्राण्डका उत्पादनहरुमा शक्तिवर्दक, शारिरिक कोमलता कायम राख्ने, ओमेगा ३, भिटामिन १२ लगायत, शारिरिक सुन्दरतामा प्रयोग गरिने उच्च गुणस्तरका सामग्रीहरु रहेका छन् ।
आक्रामक रुपमा बजार विस्तार सहित जापानी म्यागेजिनहरु, टोकियोको विश्वकै चर्चित सिबुया क्रसिगंमा रहेको ठूलो डिजिटल पर्दामा बार्षिक करिव डेढ करोड खर्चमा विज्ञापन प्रचार प्रसार एवं टेलिभिजनहरुमा समेत विज्ञापन तथा कार्यक्रमहरु प्रशारण थालिएको कम्पनीका प्रमुख बिनोद शेरचनले जानकारी दिनुभयो ।
जापानमा आफ्नै शो रुम सहित विभिन्न व्यवसायिक फर्महरुमा उपलब्ध रहेको किरा लाभो ब्राण्डका उत्पादनहरु हाल अमाजोन अनलाइन मार्फत विश्वभर विक्रि थालिएको छ ।
जापानमा नेपाली, कोरियन, थाई, भियतनामी, चाइनिज, ईण्डियन खानाका रेष्टुरेण्ट, ट्राभल एजेन्सी, घर जग्गा कारोबारको फुदोसान लगायत व्यवसाय गर्दै आएको एचएसबी जापानले छिट्टै नेपालमा समेत पर्यटन क्षेत्रमा लगानीको तयारी गरिरहेको कम्पनीका प्रमुख व्यवसायी बिनोद शेरचनले जानकारी दिनुभयो ।