उत्तर कोरियाले मिसाइल हमला गरिहाले कसरि बच्ने ? जापानमा बस्ने नेपालीको लागि सेयर गरौँ

Everest Fuji News २०७४ भदौ १५ मा प्रकाशित       Published at 2017 Aug 31


उत्तर कोरियाले बारम्बार क्षेप्यास्त्र परिक्षण गरिरहेको र पछिल्लो समयमा आफ्नो क्षेप्यास्त्रमा आणविक हतियार पनि राख्न सक्ने समाचार बाहिरिएपछि जापान सरकारले उच्च सतर्कता अपनाएको खबरहरु विभिन्न जापानी संचारमाध्यमहरुमा आइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले अझै अमेरिकालाई खतरा हुने अभिव्यक्ति दिएमा अमेरिकाले पनि जवाफी कारवाही गर्ने बताइरहँदा सबैमा त्रास उत्पन्न हुनु स्वभाविक हो । विपद् व्यवस्थापनमा अब्बल मानिएको जापानले केही महिना पहिलेदेखि नै मिसाइल आक्रमण भएको समयमा कसरी सुरक्षित रहने भन्ने वारेमा देशका विभिन्न स्थानहरुमा तालिम समेत दिइरहेको छ । सरकारले विभिन्न माध्यमहरुबाट सुरक्षित रहनेवारेका सूचनाहरु सम्प्रेसण समेत गरिरहेको छ ।   आज हामी जापान सरकार, नागरिक सुरक्षा विभागको वेवसाइटमा सर्वसाधरणको सुरक्षाका लागि मिसाइल खसेमा वा खस्दै गरेको अवस्थामा कसरी सुरक्षित रहने भन्नेवारेमा राखिएको सूचनाकै आधारमा यो पोष्ट तयार पार्दै छौं । व्यालेस्टिक मिसाइल लन्च गरेको १० मिनेट भित्रैमा आइपुग्न सक्छ ।   त्यो मिसाइल जापानमै र तपाई नजिक खस्ने अवस्था छ भने ‘जे अलर्ट’ मार्फत आपतकालिन साईरन बजाएर, मोबाइलमा सन्देश पठाएर, रेडियो मार्फत सन्देश प्रशारण गरेर जतिसक्दो छिटो सबैमाझ सूचना पुर्याइनेछ । ‘जे अलर्ट’ (J-Alert -全国瞬時警報システム Zenkoku Shunji Keihō System) भनेको राष्ट्रिय चेतावनी प्रणाली हो जुन फेब्रुअरी २००७ देखि सुरु गरिएको हो, यसले विभिन्न आपतकालिन समयहरुमा नागरिकहरुलाई छिटो र पूर्व–सूचना सम्प्रेसण गर्न सक्छ ।सन्देश प्रवाह भैसकेपछि कृपया नआत्तिनुस् र तुरुन्तै के गर्ने भन्नेबारे निर्णय गरिहाल्नुस् । १.घरवाहिर हुनुहुन्छ भने नाक मुख रुमालले बन्द गरेर सकेसम्म बलिया भवन तथा जमिन मुनी भाग्ने ।अन्डरग्राउन्ड भएका भवन, सपिङ मल तथा सबवे स्टेशनहरुको सहयोग लिन सक्नुहुनेछ ।   २. भवन नभएको ठाउँमा हुनुहुन्छ भने कुनै बस्तुको आड लागेर शरिर लुकाउनुहोस् वा जमिनमा घोप्टो गरेर टाउको जोगाउनुहोस् । ३. घरभित्र नै हुनुहुन्छ भने झ्याल नजिक नबस्नुहोस् वा झ्याल नभएको कोठामा सर्नुहोस्, झ्याल ढोका पूर्ण रुपमा बन्द गर्नुहोस्, कोठामा हावा छिर्न नदिन एयर कन्डिसनर तथा फ्यानहरु बन्द गर्नुहोस् जसले गर्दा व्यालेस्टिक मिसाइल खसेको खण्डमा त्यसको ग्यासँको असर कोठामा नपरोस् । आँखालाई सुरक्षित राख्न पट्टि बाँधेर बस्नुहोस् ।   यो सूचना नागरिक सुरक्षा विभागको वेवसाइटमै हेर्नका लागि यहाँ क्लिक गनुहोस् । ससस्त्र आक्रमण तथा आतंकबादी हमलाहरुबाट जोगिन अपनाउनुपर्ने सतर्कताहरुका वारेमा थप जानकारी चाहानुहुन्छ भने यो लिंकमा जानुहोस् । जानकारीहरु अंग्रेजी भाषामा छन् । मिसाइल खसेको समयमा आकस्मिक रुपमा बज्ने साइरन कस्तो हुन्छ भन्ने जिज्ञासा लागेको छ भने यो लिंकमा गएर सुन्न सक्नुहुनेछ । यो सूचना सेयर गरिदिनुहोला ताकि सबैलाई यस विषयमा जानकारी होस् । श्रोत: http://www.nepaaru.com


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.