
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्र स्थापना एवं सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महŒवपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।राजधानीमा आइतबारदेखि सुरु नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन उद्घाटन गर्दै उनले मुलुकमा विभिन्न समय भएका परिवर्तनमा नेपाली पत्रकारिताको महŒवपूर्ण योग्दान रहेको स्मरणसमेत गरे । ‘अब आर्थिक समृद्धिको लक्ष्य प्राप्त गरी जनतालाई सुखी बनाउन योगदान गर्न आग्रह गर्छु,’ उनले भने ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले नेपालमा मिडिया धेरै भए पनि आर्थिक रूपमा कमजोर रहेको उल्लेख गरे । ‘पत्रकारितामा दुःख छ भन्ने राम्ररी बुझेको छु,’ उनले भने, ‘अभिव्यक्ति र पूर्ण प्रेस स्वतन्त्रताको हक संविधानले प्रत्याभूत गरेको छ ।’
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आमसञ्चार नीति र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारिता क्षेत्रलाई स्वतन्त्रसँगै मर्यादित बनाउनुपर्नेमा जोड दिए ।
एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगश भट्टराईले विगतका दिन नेपाली पत्रकारिताले मुलुकको व्यवस्था परिवर्तनमा महŒवपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गरे । आर्थिक समृद्धि एवं सुखी नेपाली एमालेको प्रमुख उद्देश्य रहेकाले यसमा नेपाली पत्रकारिताले सहयोग गरे मुलुककै मुहार फेरिने उनको विश्वास छ ।
कांग्रेस नेता डा. प्रकाशशरण महत र नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मुलुकको वर्तमान समस्या समाधानका लागि दलहरू आपसमा मिलेर जानुपर्ने धारणा राखे ।
सोही अवसरमा प्रधानमन्त्री देउवाले पत्रकार महासंघले स्थापना गरेको ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार विजयकुमार पाण्डेलाई प्रदान गरे । पुरस्कारको राशि १ लाख रुपैया“ रहेको छ ।
यसैगरी, ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार भैरव रिसाल र कृष्ण सेन ‘इच्छुक’ राष्ट्रिय पत्रकारिता पुरस्कार कोमल बराललाई प्रदान गरिएको छ । यी पुरस्कारको राशि जनही ५० हजार रहेको छ ।
त्यस्तै ‘उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ सीमा सिंह शर्मा र ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ पुष्कर थापा (मरणोपरान्त) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही २५ हजार रहेको छ ।कार्यक्रममा ‘स्वतन्त्र सेनानी सम्मान’ हर्ष सुब्बा (सुनसरी), अशोक रौनियार (धनुषा), वसन्त पोखरेल (रूपन्देही) र रामबहादुर केसी (सिन्धुपाल्चोक) लगायत १२ जनालाई प्रदान गरियो ।
त्यस्तै पत्रकार महासंघ भारत शाखाले ४० हजार र पत्रकार महासंघ काभ्रे शाखाले ५० हजार बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन् ।नेपाल पत्रकार महासंघ नयाँ नेतृत्वका लागि प्रत्येक तीन वर्षमा हुने महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न हुनेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव एक, सचिव ६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
यसपटकदेखि दलित र मधेसी सचिव पनि थपिएको महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिए । सात प्रदेशसहित काठमाडौं उपत्यका, प्रतिष्ठान र एसोसिएट गरी १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिने छ । प्रत्येकबाट दुई केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।
महाधिवेशनमा १ हजार ५ सय १५ प्रतिनिधि सहभागी छन् । महासंघमा करिब १० हजार पत्रकार आबद्ध छन् । २५औं महाधिवेशनमा सोमबार अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।
जसमा तीर्थ कोइराला, उजिर मगर, गोविन्द आचार्य, ईन्द्रबहादुर राउत र भावना विद्रोहीले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत चिरन्जीवी खनालले जानकारी दिए । ४५ सदस्यीय कार्यसमितिका लागि १ सय १७ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षका उम्मेदवार कोइरालालाई प्रेस चौतरी नेपाल, मधेसी पत्रकार समाज संघीय प्रेस फोरम, नेपाल प्रेस सोसाइटीलगायतको समर्थन छ ।आचार्यलाई प्रेस युनियन नेपाल, प्रेस सेन्टर नेपाल, प्रेस मञ्च नेपाल, मिडिया नेपाल, मधेसी पत्रकार संघ, प्रगतिशील पत्रकार संघलागायतले समर्थन गरेका छन् ।‘व्यावसायिक पत्रकारिताको आधार प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नारासाथ सुरु महासंघ महाधिवेशन सोमबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।