एक सातामा जथाभाबी बाटो काट्ने १५ हजार कारबाहीमा

Everest Fuji News २०७४ जेठ २४ मा प्रकाशित       Published at 2017 Jun 07


काठमाडौं । ट्राफिक प्रहरीले एक साताको अवधिमा जथाभाबी बाटो काट्ने १५ हजारभन्दा बढीलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जेठ १६ गतेदेखि आइतबार (हिजो) सम्म सडक पेटी छाडी जथाभाबी बाटो काट्ने १५ हजार ४ सय ६१ जनालाई नियन्त्रणमा लिएर दुई सय रुपैयाँ जरिबाना गरि छाडिएको छ । महाशाखाको तथ्यांकअनुसार जेठ १६ गते २ हजार १ सय २० जना कारवाहीमा परेका छन् । त्यसैगरी १७ गते २ हजार २ सय २४ जना, १८ गते १ हजार ७ सय ३८ जना, १९ गते १ हजार १ सय १९ जना, २० गते शनिबार ४ सय ५० जना र जेठ २१ गते ९ सय ६५ जना जथाभाबी बाटो काट्ने बटुवा कारवाहीमा परेका छन् । महाशाखाका अनुसार कारवाही परेका मध्ये ८ हजार ६ सय १६ जना दुई सयका दरले कारबाही परेकै स्थानमा जरिबाना रकम तिरेर छुटेका छन् भने ६ हजार ८ सय ४५ जनाले जरिबाना रकम तिन नसकेका कारण ३ घण्टा ट्राफिक प्रहरीको नियन्त्रणमा बसेका छुटेका छन् । जरिबाना रकम तिर्न नसक्नेलाई नियन्त्रणमा लिएर एक घण्टाको सचेतना कक्षा समेत दिने गरेको महाशाखाले जनाएको छ । उपत्यकाभित्र हुने गरेको सडक दुर्घटना रोकथाम गर्न जेठ १६ गतेदेखि जथाभाबी सडक काट्नेलाई कारवाही थालिएको हो । महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी मिग्मार लामा भन्छन्, “यो काम राजवश्व असुल्न हैन, सडकमा हुने गरेको दुर्घटना रोकथाम गर्न चालेको कदम हो । सडक दुर्घटनामा परेर ज्यान गुमाउने मध्ये ४० प्रतिशत पैदल यात्री भएको भेटिएपछि हामीले पैदल यात्रीका सुरक्षाका लागी कडाई गरेका हौं ।”


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.