
अष्ट्रेलियामा नेपाली मूलका ब्यबसायीद्वारा सञ्चालित रोयल गुर्खा इन्सटिच्यूट अफ टेक्नोलोजी कलेज बन्द हुने भएको छ।अष्ट्रेलिया सरकारले प्राबिधिक शिक्षा पढाएबापत कलेजहरुलाई दिने रकमको दुरुपयोग गरि नक्कली बिद्यार्थी खडा गरी सरकारबाट लाखौं डलर रकम लिएको पुष्टी भएपछि सरकारले कलेज बन्द गर्ने आदेश दिएको द अष्ट्रेलियन पत्रिकाले जनाएको छ।
नेपाली मूलका भिक्टोरिया राज्यका लागि नेपालका अबैतनिक महाबाणिज्यदूत समेत रहेका ब्यबसायी चन्द्र योञ्जनले सञ्चालन गरेको रोयल गुर्खा इन्सटिच्यूट अफ टेक्नोलोजी कलेज ठूलो रकम दुरुपयोग गरेको भेटिएपछि सन् २०१५ मै सरकारले कलेज बन्द गर्न खोजिएको थियो।सरकारको भेट फि्र हेल्प स्किम अन्र्तगत सो कलेजले सन् २०१३ मा ५५ लाख डलर सरकारबाट प्राप्त गरेको थियो।
कलेजले सन् २०१५ मा भएको लेखापरिक्षणमा आफुले लिएको रकम सदुपयोग गरेको पुष्टी गर्न सकेको थिएन। गत बर्षको अनुगमन अडिटमा पनि कलेजको रवैयमा सुधार आएको नदेखिएपछि सरकारले बन्द गर्ने निर्णय गरेको हो।
कलेज बन्द भएसँगै त्यहाँ कार्यरत करिव २ सय कर्मचारी तथा करिव १४ सय बिदेशी बिद्यार्थीको भविष्य अन्यौलमा परेको छ।कलेजले भने बिज्ञप्ति जारी गर्दै सरकारको यो निर्णयमाथि पुनराबेदन गर्ने र अन्तिम निर्णय नआउँदासम्म कलेज सञ्चालन गरिरहने बताएको छ।