जापान ।
भूकम्प पीडित र अति विपन्न तीन छुट्टा छुट्टै समुदायका लागि एकीकृत नमुना बस्ती बनाएर नेपालमा प्रशंसा बटुलेका हाँस्य कलाकार जोडी धुर्मुस-सुन्तलीलाई जापानमा अभिनन्दन गरिने भएको छ ।
कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई यही अप्रिल ३० तारिखका दिन जापानको टोकियोस्थित नकानो जिरो हलमा अभिनन्दन गरिने भएको हो ।
आयोजक सनराईज कर्पोरेसन् लिमिटेड जापानले सामाजिक अभियन्ता समेत रहेका हाँस्य कलाकारद्धयको अभिनन्दन गर्ने व्यवस्था मिलाएको छ । कर्पोरेसनले अप्रिल ३० तारिखका दिन टोकियोस्थित नाकानो जिरो हलमा उनीहरुको अभिनन्दनका साथै धुर्मुस सुन्तली फाउन्डेसन सहयोगार्थ ‘धुर्मुस सुन्तली साँझ २०१७’ को आयोजना गरेको छ ।
कार्यक्रममा धुर्मुस-सुन्तलीले आफ्ना हाँस्य प्रहसन प्रस्तुत गर्ने छन् । साथै उनीहरुले तीन वटा एकीकृत नमुना बस्ती बनाउनका लागि गरेका पहलहरु र भावी योजनाका बारेमा जापानमा रहेका नेपालीहरुलाई जानकारी दिने छन् ।
धुर्मुस-सुन्तलीले ‘बुबा हजुर’ को सम्मान दिने नेपालकै चर्चित कार्यक्रम संचालक दिनेश डिसीले पनि प्रस्तुति दिने छन् । साथै चर्चित पप गायक दिपक बज्राचार्यले आफ्ना सांगीतिक प्रस्तुती पस्कने कार्यक्रम रहेको छ ।
त्यस्तै गरी हाँस्य कलाकर बांगे बाको चर्चित प्रस्तुति पनि समावेश गरिएको आयोजकले जनाएको छ । भूकम्प पीडित र अतिविपन्न समुदायका बासिन्दालाई एकीकृत आवास निर्माण गरि उदाहरणीय काम गरेका कलाकारद्धयलाई अभिनन्दन गर्न र उनीहरुको अभियानमा साथ दिनका लागि कर्पोरेसनले जापानमा रहेका नेपालीहरुलाई आग्रह समते गरेको छ ।
कर्पोरेसनका अध्यक्ष रविन्द्र श्रेष्ठले कार्यक्रमको अर्को उदेश्य धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग गर्ने रहेकोले धुर्मुस-सुन्तलीलाई स्वयम् आफु उपस्थित भई रकम हस्तान्तरण गर्न सकिने व्यवस्था हलमै मिलाईएको बताए ।