गाउँको विकासमा प्रवासीले गरे एक करोडको अक्षयकोष स्थापना
Everest Fuji News२०७४ बैशाख २ मा प्रकाशितPublished at 2017 Apr 15
रोजगारीका क्रममा जापान पुगेका काठेखोला गाउँपालिका– ५ र ६ बिहुँकोटका बासिन्दाले गाउँमा एक करोडको अक्षयकोष स्थापना गरेको छन्।शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक कार्यमा सघाउने उद्देश्यले सो कोषको स्थापना गरिएको हो। काठेखोला गाउँपालिका– ५ मा शुक्रबार आयोजित एक कार्यक्रमबीच उक्त कोषको घोषणा गरिएको बिहुँकोट समाज जापानका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिए।
सो अवसरमा अध्यक्ष सुवेदीले जापान समाज बिहुँकोटका अध्यक्ष गौरीशङ्कर शर्मालाई एक करोड रुपैयाँ बराबरको ‘चेक’ हस्तान्तरण गरे। जापानमा रहेका बिहुँकोटबासीबाट आर्थिक सहयोग जुटाएर सो कोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताए।
‘शिक्षा, स्वास्थ्यलगायत सामाजिक कार्यमा सघाउ पु¥याउन कोष स्थापना गरिएको हो’ अध्यक्ष सुवेदीले भने, ‘जापानमा रहेका सबै बिहुँकोटवासीको यसमा ठूलो योगदान छ।’
बिहुँकोटमा रहेको जापान समाज बिहुँकोटले अक्षयकोष सञ्चालन गर्नेछ। अक्षयकोषबाट प्राप्त हुने वार्षिक ब्याज रकमबाट विभिन्न कार्य गरिने समाजका अध्यक्ष गौरीशङ्कर शर्माले बताए। काठेखोला गाउँपालिका– ५ र ६ लाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको जनाइएको छ।
‘बिहुँकोट क्षेत्रको विकासका लागि कोष रकम परिचालित हुन्छ’ अध्यक्ष शर्माले भने, ‘शिक्षा, स्वास्थ्य र भइपरी आउने विपद् व्यवस्थापनमा पनि सहयोग गर्ने योजना छ।’
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले प्रवासमा रहेर पनि आफ्नो गाउँको विकासमा सक्रिय रहनु प्रशंसनीय कार्यभएको बताए।
‘आफ्नो जन्म गाउँ र स्वेदशको विकासमा लागि प्रवासमा रहेका नेपालीको ठूलो देन छ’ उनले भने, ‘यस्ता कल्याणकारी सामाजिक कार्यको सबै क्षेत्रले अनुसरण गर्नु आवश्यक छ।’ रासस