लगानीको वातावरण बुझ्न जापानी पूर्वप्रधानमन्त्री नेपालमा

Everest Fuji News २०७३ चैत्र ८ मा प्रकाशित       Published at 2017 Mar 21


जलस्रोतको सम्भाव्यता भएपनि प्रक्रिया झन्झटिलो भएको गुनासो

पोखरा । निजी भ्रमणका क्रममा नेपाल आएका जापानका पूर्वप्रधानमन्त्री युकिहो हातोयामा पोखरा भ्रमण गरेर मंगलबार काठमाडौं फर्किएका छन् । लगानीको सम्भाव्यता बुझ्न नेपाल आएका हातोयामाले सोमबार पोखरा भ्रमण गरे । मंगलबार पत्रकारसँग अन्तरक्रिया गर्दै पूर्वप्रधानमन्त्रीले नेपालमा लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए । नेपालको जलस्रोत र कृषिमा लगानी गर्न चाहेको बताउँदै उनले उद्योग खोल्न आवश्यक आवेदन, लाइसेन्स लगायत प्रक्रिया झन्झिटिलो भएको सुनाए । उनले भने, ‘मैले धेरै बुझिसकेको छैन तर जलस्रोतमा लाइसेन्स लिने प्रक्रिया झन्झटिलो छ भन्ने सुनेको छु ।’ उनले नेपालमा एउटा जलविद्युत् परियोजना सुरु गर्ने तयारी गरेको बताए पनि अध्ययनकै चरणमा रहेको भन्दै कहाँ र कति लगानीको परियोजना भन्नेबारे खुलाएनन् । जापानले धेरै देशसँग द्वैध कर निषेधसम्बन्धी सम्झौता गरिसकेकोले नेपालसँग पनि हुन सके जापानी लगानी भित्र्याउन सहज हुने उनले उल्लेख गरे । ‘जापानले दुवैतिर कर तिर्न सक्दैन,’ उनले भने, ‘दुईतिर कर नतिर्ने सम्झौता भयो भने लगानी भित्र्याउन सकिन्छ ।’ उनले ठूला उद्योगमात्रै नसोँची साना र मझौला उद्योगमार्फत नेपालको विकास गर्न सकिने धारणा राखे । जापानका ठूला कम्पनीका बारेमा बाहिर धेरै सुनिए पनि त्यहाँको विकासमा साना र मझौला कम्पनीले धेरै टेवा पुर्‍याएको उनले उल्लेख गरे । ‘विकास गर्न ठूलै कम्पनी चाहिन्छ भन्ने होइन,’ उनले भने, ‘सानै तर सामान उत्पादन गर्ने कम्पनी भयो भने देश विकासमा टेवा पुग्छ ।’ उनले नेपाल र जापानबीच सिधा हवाइ उडान भए यहाँ जापानी पर्यटकको संख्यामा वृद्धि हुने बताए । पोखरामा अन्तर्रास्ट्रियस्तरको ‘इभेन्ट’ गर्न सके पर्यटकको आगमन बढ्ने उनको धारणा थियो । जापानका ६० औं प्रधानमन्त्री हातोयामाको यो दोस्रो नेपाल भ्रमण हो । यसअघि उनी सन् २०१३ को सेप्टेम्बरमा नेपाल आएका थिए । मंगलबार नै उनले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.