जापानको दुतावासमा बिरोध पत्र बुझाए, नेपाली संघीय समाजले
Everest Fuji News२०७३ आश्विन ३ मा प्रकाशितPublished at 2016 Sep 19
असोज-३,जापान।
नेपाली संघीय समाज, जापानले संविधान दिवसको विरोध गर्दै दुतावासमा ज्ञापन पत्र बुझाएका छन् । उत्पीडित वर्गको हित विपरित संविधान जारी भएकाले खुसीयाली मनाउन नसकीएको र तत्काल सच्याउन भन्दै ज्ञापन पत्र बुझाएको छ । राजदूतलाई संवोधन गरी दुतावासमै पुगेर अध्यक्ष पेम्वा छिरिङ शेर्पा लगायतको टोलीले ज्ञापन पत्र बुझाएको सञ्चार विभाग प्रमुख पत्रकार फूर्वा शेर्पाले जानकारी दिए ।
‘युगौयुग देखि उत्पीडित नेपाली जनताको पक्षमा अग्रगामी संविधान निर्माण गरी दिगो शान्ति समृद्धी तर्फ लम्कनु पर्नेमा ठिक विपरित संविधान आएको एक बर्ष पुगेको छ । यसले मुलुकलाई अस्थिरताको दलदलमा फसाएको छ । यसले राम्रो नतिजा दिने छनक छैन ।’ ज्ञापन पत्रमा भनिएको छ । जनताले गरेका संघर्ष, परिवर्तनका आशाहरुलाई निभाउँदै एकल जातीय र पुरानै ढर्राबाट संविधान जारी हुने काम भएको छ । यसलाई कदापी स्वीकार्न नसकीने ज्ञापनपत्र बुझाउँदै अध्यक्ष शेर्पाले भने । मुलुकलाई निकास दिई समृद्धी तर्फ उन्मूख गराउन सवैलाई सुहाउने खाले संविधान निर्माण गर्नुको विकल्प नभएको शेर्पाले थपे । ‘विगतमा भएका सम्झौता, आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै संविधान पुनःलेखन मार्फत लोकलाई सुहाउँदो विधि निर्माण गर्न राजनैतिक दलका नेताहरुको चेतना खुलोस् ।’ ज्ञापन पत्रमा भनेका छन् । ज्ञापन पत्र बुझाउन नेफेसोका पदाधिकारी र आदिवासी, जनजाति, मधेशी समुदायका प्रतिनिधीहरु पुगेका थिए ।