बाढी पहिौरोमा परेका अझै ३८ जना बेपत्ता, प्रदेश २ मा कृषि व्यवसायमा साँढे ३ अरब बढिको क्षति,-
Everest Fuji News२०७६ श्रावण १३ मा प्रकाशितPublished at 2019 Jul 29
काठमाडौं ।
मनसुन सक्रिय भएसँगै गएको असार र साउनको पहिलो साता आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता छन् । परेको वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी १ सय १७ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो दुई दिनयता चार जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । यस अवधिमा ४ सय १४ विपद्का घटना भएका छन् । विपद्मा परी ८० जना घाइते भएका थिए । अधिकांश घाइते उपचारपछि घर फर्किएका छन् ।
केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बाढीको १ सय ३४, पहिरोको २ सय २७ र भारी वर्षाको कारण ५३ घट्ना भएका छन् । बाढीबाट ६१, पहिरोबाट ४७ र भारी वर्षाका कारण नौ जनाले ज्यान गुमाएका छन् । बाढीबाट २९ र पहिरोबाट नौ जना हराइरहेको खनालले बताउनुभयो ।
अहिलेसम्म एक अर्ब सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । बाढी र डुबानबाट सबैभन्दा बढी रौतहटमा १० जनाको मृत्यु भएको छ । पहिरोबाट सबैभन्दा बढी गुल्मीमा १४ जनाको ज्यान गएको छ ।
डोल्पामा सात जना हराइरहेका छन् । गएको असारको २६ देखि ३० गतेसम्म तथा साउनको ७ र ८ गते बाढी, पहिरो र डुबानका घट्ना भएका थिए । विपद्बाट ९० हजारभन्दा बढी परिवार प्रभावित भएका थिए भने २२ हजार ६ सय ७० परिवार विस्थापित भएको केन्द्रले जनाएको छ । खनालका अनुसार विभिन्न ठाउँमा राहत वितरणसँगै सडक र तटबन्ध भत्किएको क्षेत्रमा पुनःनिर्माणको काम जारी छ ।
प्रदेश २ मा कृषि व्यवसायमा साँढे ३ अरब बढिको क्षति-
गएको असार अन्तिम हप्ता प्रदेश दुईमा आएको बाढी र डुबानका कारण कृषि तथा पशुपंक्षी व्यवसायमा साढे तीन अर्ब भन्दा धेरैको क्षति भएको छ ।
कृषि तथा पशुपंछि विकास मन्त्रालयका अनुसार प्रदेश दुईका ८ जिल्लामा पशुपछींतर्फ १ अर्ब ६२ करोड तथा कृषि बालीतर्फ एक अर्ब ९७ करोड रुपैयाँ बराबर क्षती पुगेको छ । व्यवसायीक पशुपंक्षीतर्फ महोत्तरी जिल्लावाहेक ५ जिलामा १ अर्ब ६२ करोड रकम बराबरको क्षति भएको मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ ।
बाढीले कुखुरा, हाँस, बाख्रा, भैंसी र गोरु तथा यसकाआहार पनि बगाएको मन्त्रालयले जनाएको छ । तथ्यांकअनुसारे पशुपंक्षीतर्फ सबैभन्दा बढी क्षति सिरहा र सप्तरीमा कुल ९७ करोड बराबरको क्षति भएको छ भने रौतहटमा मात्र ३५ करोड बराबरको क्षति भएको छ । धनुषामा १५ करोड, पर्सा र बारामा १० करोड, सर्लाहीमा ५ करोड क्षति भएको छ भने महोत्तरीको तथ्यांक आई सकेको छैन ।
बाढीले सिरहा र सप्तरीमा २ हजार ८ सय टन तयारी माछा नै बगाएको छ भने ६६ हजार कुखुरा, कम्तिमा एक हजार गाई, भैंसी, राँगालगायतका घरपालुवा जनावर र करिव ६ हजारको संख्यामा बाख्रा बाढीले बगाएको छ ।
हालसम्म प्राप्त विवरण अनुसार कृषितर्फ सबैभन्दा बढी क्षति बारामा भएको छ । बारामा मात्र ५० हजार ३ सय हेक्टरमा केरा, तरकारी, मकै बाली, चैते धान तथा वर्षे धानको ब्याड नष्ट हुँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।
यता पर्सामा ४४ करोड ८८ लाख रकम बराबरको क्षति भएको छ । त्यसैगरी रौतहटमा ३५ करोड, सप्तरीमा ३० करोड, धनुषामा २० करोड, सर्लाहीमा ८ करोड तथा सिराह र महोत्तरीमा ५(५ करोड बराबरको क्षति भएको छ ।