Everest Fuji News२०७६ असार ३ मा प्रकाशितPublished at 2019 Jun 18
-कविकिरण न्यौपाने / नागोया
नेपालको कुनै गाउँ वस्ती होइन , सात समुद्रपारि व्यस्त शहरमा मध्यान्न एकाएक बन्चेवाजा घन्कियो । के नेपाली , के विदेशी सवैको ध्यान गुन्जिरहेको पन्चेवाजामा नै थियो । यो दृश्य गत सनिवार र आइतवार जापानको नागोयामा पहिलो पटक आयोजना गरिएको नेपाल फेष्टिवलको हो। वाजासंगै जापानका लागी नेपाली राजदूत प्रतिभा राणा लगाएत ताली बजाई रहनु भएको थियो भने एनआरएनए आईसिसि अध्यक्ष भवन भट्ट लगाएत भिड नाचिरहेका थिए।उक्त मनमोहक दृश्यको जापानिज लगाएत विदेशीहरु फोटो अनि भिडियो खिच्न व्यस्त देखिन्थे । उक्त पंचेवाजा नागोयामा पहिलो पटक एनआरएन नागोयाका संयोजक दिपक कार्कीले आफ्नो व्यक्तिगत खर्चमा व्यवस्थापन गर्नु भएको हो।
त्यतिमात्र होइन नेपालका प्रायः जातजातिका भेषभूषामा सजिएका युवा युवतीहरु, विविध नेपाली सांगितिक कार्यक्रम , नेपाली बाटुले घर , नेपाली सामानका स्टल तथा खानाहरू , जताततै नेपाली झण्डा फहराई रहेका यी सबैको समिश्रणले नेपाल फेस्टिवल मात्र नभई यौट्टा लिटिल नेपालकै झल्को दिन्थ्यो । पंचेवाजा वच्नसाथ नाच्न तम्सीहाल्ने उक्त नेपाल फेष्टिवलका सह- संयोजक यम खत्री भन्दै हुनुहुन्थ्यो यो फेष्टिवल पहिलो हो तर अन्तिम होईन । अव हामी सबैको सहकार्यबाट प्रत्येक वर्ष अझ वृहत नेपाल फेष्टिवल गर्छौं।
फेष्टिवल भव्य अनि सभ्य तरिकावाट सम्पन्न भएपछी आयोजकले सबैलाई प्रेस विज्ञप्ति मार्फत धन्यवाद दिएका छन्। कार्यक्रम संयोजक पारश मणि पोखरेलले आफ्नो फेसबुकबाट पनि यो स्टाटस पोष्ट गर्नु भएको छ। “यो नागोयाबासी नेपालीहरुकोको लागि ठुलो चुनौती थियो l कार्यक्रम भब्य र सभ्य भयो l मलाई दिएको संयोजकको भुमिकामा आफ्नो प्रयास अन्तिम सम्म जारि राखे l हामिलाइ सहयोग गर्नु हुने सम्पूर्णलाइ हार्दिक धन्यवाद l “おつかれ様でした。
मातृभूमि छोडेर कर्मभूमिमा धेरै यस्ता नेपाल र नेपाली चिनाउने कार्य प्रसंशानिय त अवश्य नै छ । तर पनि कार्यक्रम सम्पन्न गर्न कहाँ बाट के-कति रकम सहयोग प्राप्त र कति खर्च भयो भन्ने बारेमा जनमानसमा यदाकदा थाहा नगराईदा आलोचना समेत हुने गर्छ। यस फेष्टिवलको भने छिट्टै आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिने कार्यक्रमका आर्थिक संयोजक मोहन खत्रीले भन्नु भयो।
यस्ता कार्यक्रमहरु आयोजना गर्दा जानेर वा नजानेर यदाकदा गल्तिहरु हुने गर्छन् । यस फेष्टिवलमा पनि केहि कुरामा ध्यान नगएको देखिन्थ्यो । ट्वाइलेटमा जताततै वियरका क्यानहरू ढलेका देखिन्थे। आयोजकले माईकबाट फोहर ( गोमी) तोकिएको ठाउँमा फ्याल्नु हुन अनुरोध गरिरहेका थिए। कार्यक्रम सकिए पछि कार्यक्रम संयोजक पारश र्माण पोखरेल , एनआरएन नागोयाका संयोजक दिपक कार्की , सचिव श्याम शितल लगाएत स्वयंसेवकहरु फोहर संकलन गरिरहेका देखिन्थे । भोलिपल्ट पनि कार्यक्रम स्थलमा आयोजकहरु सरसफाईमा जुटेका थिए।
फेष्टिवलमा एनआरएनएको चुनावको चर्चा-
एनआरएनएको अधिवेशन नजिकिदै जादाँ सदस्यता बनाउने कार्यले तिव्रता पाएको थियो। कोही सदस्यता बनाउन कन्भिस गराईरहेका थिए। कोही आगामी अधिवेशनमा आफ्नो उमेदवारी बारे प्रचार गरि रहेका थिए। जापानमा टाँसी लामा र आइसिसी अध्यक्षमा भवन भट्टले फेरी दोहोराउने चर्चा चलि रहेको थियो। एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेले लाई अवको अधिवेशनमा तपाईको उमेदवारी के रहन्छ ? भन्ने जिज्ञासामा अहिलेलेनै सार्वजनिक गर्दा चाडो हुन्छ उहाको जवाफ थियो।
एनआरएनए आईसिसी सदस्य डिलाराम कँडेल भने आगामी कार्यकालको बारेमा सोचिनसकेको बताउनुहुन्थ्यो । अर्का आईसिसी सदस्य केशर गिरी भने समयले बताउछ भन्दै हुनुहुन्थ्यो । सायद यसपालि जित्नकै लागी होला नागोयाका व्यवसायी गोविन्द्र श्रेष्ठ खुलेर आफ्नो उमेदवारीको प्रचारमा लाग्नु भएको थियो। अर्का आईसिसी सदस्य ओम गुरुङ्ग भने अरुको प्रतिक्रिया बुझ्नमानै व्यस्थ देखिनुहुन्थ्यो । नेपाल फेष्टिवलका संयोजक तथा एनआरएनए एशिया प्यासिफिकका उप- संयोजक पारश र्माण पोखरेल अगाडी बढ्न पर्ने चर्चा चलिरहेको थियो। कार्यक्रममा भेटिएका व्यवसायी सुरज काफ्लेका अनुसार काम गर्नेलाई सबैले साथ दिनुपर्छ । यत्रो कार्यक्रम पारश र्माण पोखरेलको नेतृत्वमा सम्पन्न भयो उहा जस्तो मान्छे एनआरएनएमा आउनु पर्छ । एक लाखको हाराहारीमा नेपाली रहेको जापानमा सबै तह र तप्काका मानिसहरुलाई एनआरएनले समेट्न नसकेको ठूलै आवाज यत्रतत्र सुन्न सकिन्थ्यो ।