जापानको नागोयामा नेपाल फेष्टिवलको तयारी तिव्र

Everest Fuji News २०७६ जेठ १८ मा प्रकाशित       Published at 2019 Jun 01


कविकिरण न्यौपाने / नागोया

जापानको तेश्रो ठूलो शहर नागोयामा पहिलो पटक नेपाल फेस्टिवलको आयोजना गरिएको छ। उक्त फेष्टिवल नागोयाको मुटु मानिने साकायामा आगामी जुन १५ सनिवार र १६ आईतवार २ दिन हुने छ। फेष्टिवल लाई भब्य एवं सभ्य बनाउन मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरुले तयारी अन्तिम चरणमा पुराएको बताएका छन्। नेपाली राजदुतावास जापान र एनआरएनए जापानको संयूक्त आयोजनामा हुने उक्त फेष्टिवलमा जापान स्थित विभिन्न संघसंस्थाहरु सह-आयोजकका रूपमा रहेका छन् ।

जुन १५ तारिक जापानका लागी नेपाली राजदुत वाट उद्‌घाटन हुने उक्त फेष्टिवलमा आइची प्रिफेक्चरका गभर्नर ,नागोयाका उपमेयर , ओबु सिटीका मेयर ,जापानका सांसदहरू लगाएत जापानका उच्च अधिकारीहरुको विशिष्ट अतिथिका रुपमा उपस्थिति रहने कार्यक्रम संयोजक एवं एनआरएनए एसिया प्यासिफिक उप-संयोजक पारस मणि पोखरेलले बताउनु भयो।

त्यसैगरि कार्यक्रममा एनआरएनए केन्द्रिय अध्यक्ष भवन भट्ट , उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य ,अमेरिका संयोजक गौरीराज जोशी लगाएतका पदाधिकारीहरुको उपस्थिति हुने बताइएको छ। नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा जापानीहरुलाई नेपाल चिनाउन जापानको नागोयामा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको एनआरएनए जापानका पूर्व अध्यक्ष समेत रहनु भएका कार्यक्रम संयोजक पोखरेलको भनाई छ । फेष्टिवलको अन्तिम तयारीको वारेमा छलफलको लागी एनआरएनएका केन्द्रिय अध्यक्ष भवन भट्ट , जापानका लागी नेपाली राजदुत प्रतिभा राणाको उपस्थितीमा नागोमामा जुन १४ तारिक वृहत भेला हुने बताइएको छ।

यो फेष्टिवल जापानमा रहेका सवै नेपालीहरुको साझा कार्यक्रम भएकोले यसलाई भव्य एवं सभ्य तरिकाबाट सम्पन्न गर्न लागिपरेको नेपाल फेष्टिवल आयोजक समितिका उप-संयोजक यम खत्रीले बताउनु भयो। साथै सबै नेपालीहरु लाई उक्त फेष्टिवलमा आउन खत्रीले अनुरोध गर्नु भएको छ । जापानमा नेपालीहरुको संख्या वृद्धि भई रहेको अवस्थामा यस प्रकारको फेष्टिवलले नेपाली- नेपालीहरु विच एकआपसमा चिनजान एवं घनिष्ट बनाउने नेपाली विधार्थीहरुको संस्था (नेसाज ) का पूर्व अध्यक्ष एवं व्यवशायी विमल अधिकारीको भनाई छ । जापानमा हाल अध्ययन , रोजगारी , व्यवशाय लगाएत करिव एक लाखको हाराहारीमा नेपालीहरु रहेका छन् ।

कार्यक्रमको लागी सबै स्टलहरु बुकिङ्ग भई सकेको आयोजकले जनाएको छ। उक्त फेष्टिवलमा विभिन्न प्रकारका नेपाली झाँकीहरु प्रस्तुत गरिने साथै कलाकारहरु बाट वेजोड सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ। कार्यक्रममा नेपाली परम्परा अनुसारको विवाह , व्रतबन्ध , नेपाली फेसन सो , पंचेवाजा हेर्न सकिने एनआरएनए , नागोयाका संयोजक दिपक कार्कीले बताउनु भयो । नेपाली कला संस्कृति संगै नेपाली परिकारका साथ फेष्टिवलमा रम्न सकिने कार्कीको भनाई छ। जापानको नागोयामा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गर्न पाउदा खुःशी लागेको कार्की बताउछन् ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.