जापानमा स्कुल बस कुरिरहेका बच्चाहरुमाथि चक्कु प्रहार, दुई बालक र एक महिलाको मृत्यु

Everest Fuji News २०७६ जेठ १४ मा प्रकाशित       Published at 2019 May 28


जापान- जापानको कावासाकी सहरमा स्कुल बस कुरिरहेका विद्यार्थीमाथि चक्कु आक्रमण भएको छ। उक्त आक्रमणमा परी दुई बालकको मृत्यु भएको बिबिसीले जनाएको छ।

उक्त आक्रमणबाट १६ जना बच्चाहरु घाइते भएका छन्। आक्रमणमा एक महिलाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

आक्रमणकारीले पक्राउ पर्नुअघि आफ्नो गर्दनमा पनि चक्कुले आक्रमण गरेको आशंका प्रहरीले गरेको छ। प्रहरीका अनुसार उसको पनि मृत्यु भएको छ। घटनास्थलबाट दुई थान चक्कु फेला परेको छ। आक्रमण किन र कसले गरायो त्यसको पुष्टि हुन नसकेको समाचार एजेन्सी एएफपीले जनाएको छ।

कावासाकी अग्नि नियन्त्रक विभागका कर्मचारीका अनुसार उक्त घटना बिहान ७:४४ बजे भएको थियो।

उक्त क्षेत्रका प्रत्यक्षदर्शीका अनुसार बस पार्कमा एक व्यक्ति रगतले लतपतिएर घुमिरहेका थिए। ‘म यो क्षेत्रमा हुदाँ रगत लतपतिएको व्यक्ति र बच्चाहरु सडकमा भागदौड गर्दै थिए,’ एक प्रत्यक्षदर्शीले भने, ‘यो सधैं शान्त हुने क्षेत्रमा यस्तो दृश्य देख्नु आश्चर्यजनक थियो।’

सरकारी अधिकारीका अनुसार आक्रमणकारीले अचानक बस स्टपमा उभिएका मानिस र बच्चामाथि अन्धाधुन्ध चक्कु आक्रमण गरेका थिए। स्थानीय टेलिभिजनहरुले उक्त क्षेत्रमा आपतकालीन अवस्था अनुसार टेन्ट लगाएर घाइतेहरुको उपचार सुरु गरिएको जनाएका छन्।

जापानमा यस्ता घटना कम हुने गर्दथे। तर २०१६ मा मानसिक रोगीहरुको उपचार गर्ने अस्पतालमा एक पूर्व कर्मचारीले १९ जना मानिसमाथि चक्कुले आक्रमण गरेका थिए। उनले त्यसबेला मानसिक बिरामीको अन्त्य हुनुपर्ने भन्दै आक्रमण गरेका थिए।

२००८ मा एक व्यक्तिले टोकियोमा सडकमा हिँडिरहेका मानिसहरुमाथि ट्रक चढाएका थिए। उक्त हमलामा सात जनाको मृत्यु भएको थियो।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.