Everest Fuji News२०७५ माघ १० मा प्रकाशितPublished at 2019 Jan 24
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालको भ्रमणमा रहेको जापानी प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।
जापानको कृषी तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले बिहीबार सिंहदरवारस्थित उर्जामन्त्रालयमा भेटवार्ता गरेको हो।
भेटमा ऊर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए।
उनले ऊर्जा र जलस्रोत मन्त्रालय मातहतका विभिन्न आयोजनमा जापानले गर्दै आएको प्राविधिक र आर्थिक सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग निरन्तरता हुने विश्वास व्यक्त गरे।
नेपालको कृषी क्षेत्रको विकासको लागि सिंचाईको महत्वपूर्ण भुमिका हुने भन्दै मन्त्री पुनले मन्त्रालयले भेरी बबई, रानी जमरालगायतका केही ठूला आयोजना अघि बढाइरहेको जानकारी दिए।
‘हामीले वर्षभरी नै सिंचँई गर्न सजिलो होस् भनेर केही ठूला आयोजनाहरु अघि बढाएका छौं, हाम्रो भूगोल सुहाउँदो सिंचाईको प्रविधि खोज्न पनि मैले मातहतकालाई निर्देशन दिएको छु’, उनले भने, ‘तपाईंहरुजस्ता विज्ञहरु आउँदा यो क्षेत्रको प्रविधिको अध्ययन र अनुसन्धानमा सहयोग होस् भन्न चाहन्छु।’
मन्त्री पुनले जलउत्पन्न प्रकोप नियन्त्रयण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको जानकारी दिँदै सिंचाई र उर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा आगामी दिनमा समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
अन्र्तराष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिंदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताए। उनले नेपाल कृषी प्रधान देश रहेको भन्दै कृषी क्षेत्रमा सहयोग गर्न आफूहरु तयार रहेको धारणा राखेका थिए।
‘नेपालमा के कस्ता सम्भावनहरु छन्, हामी त्यसको अध्ययन, अनुसन्धानको लागि अहिले नेपालको भ्रमणमा आएका छौं, जापानको निजी क्षेत्र पनि यहा लगानी गर्न इच्छुक छ’, उपमहानिर्देशक ताकामीले भने।
उनले सिंचाई र पानीको क्षेत्रमा जापानको लामो अनुभव भएको भन्दै त्यसको ज्ञान बाँड्न आफूहरु इच्छुक रहेको बताए।
भेटमा नेपालका लागि जापानी राजदूत मसामिची सैगो समेत सहभागी थिए।
उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको जापान भ्रमण र जापानी परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको बेला कृषी क्षेत्रमा सहकार्य गर्ने सहमति भएको भन्दै यो भ्रमणदल नेपाल आउनु त्यसको निरन्तरता भएको जानकारी दिए।
भ्रमण दलमा कृषी मन्त्रालयमा कार्यरत उच्च अधिकारीका साथै सिंचाई क्षेत्र हेर्ने इन्जिनियर, वन विज्ञ र निजी क्षेत्रका व्यवसायी समेत सहभागी थिए ।