बुधवार - ९ जनवरी अर्थात पौष २५ टोकियो,जापान ।
नेपाल अाइडल सिजन २ का विजेता रवि ओड , उपविजेता बिक्रम बराल , दोस्रो रनरअप सुमित पाठक , तेस्रो रनरअप अस्मिता अधिकारी र टप ५ मा पर्न सफल अमित बरालको गत सोमबार टोकियोमा रुपन्देही समाजले खादा तथा नगदले भब्य स्वागत तथा सम्मान गरेको छ ।

अध्यक्ष ईन्द्र केसी , पूर्व अध्यक्ष पशुपती गिरी , उपाध्यक्ष चेतन बस्नेत , सदस्यहरु किरण विष्ट , सुजन थकाली लगायत अन्य रुपन्देहीबाट जापानमामा विभिन्न पेशामा आवद्द अगुवाहरुले रुपन्देहीबाट प्रतिनिधित्व गरेका टप ५ मा पर्न सफल अमित बराललाई सम्मान गर्ने शिलशिलामा सबै विजयीलाई पनि नगद तथा खादाले सम्मान गरेको हो।

सम्मान कार्यक्रममा अध्यक्ष केसीले आफ्नो गायन प्रतिभावानबाट स्वदेश तथा विदेशमा प्रसिद्दी कमाउन सफल भए सँगै विदेशमा पनि कार्यक्रम गर्न पाउनु सुनौलो अवसर भएकोले आगामी गीत संगीतलाई माया गर्दै निरन्तरता दिनु पर्ने सल्लाह दिनु भयो , साथै उहाले सबैलाई उज्वल भविश्यको कामना गर्नु भयो ।
टोकियोको सिनओकुबु नजिकै रहेको रोयल गार्डन रेष्टुरेन्टमा भएको उक्त सम्मान कार्यक्रममा जापानमै परोपकारी काममा आफुलाई अव्बल दर्जामा राख्न सफल रुपन्देही जापानले भव्य सम्मान गरेका थिए ।

उक्त सम्मान कार्यक्रममा पोखराका उपविजेता बिक्रम बरालले आईतबार साँझको स्टेज कार्यक्रम तथा सम्मान कार्यक्रममा नेपाली ढाका टोपी ढल्काउदै स्व.प्रविण गुरुङ्द्वारा स्वरवद्ध गुरुङ जातिको मौलिक सोरठी गीत गाएर मन्चमा प्रस्तुत हुँदा नेपाल तथा जापानमा लामो समयसम्म स्थापित नमस्ते बैण्ड तथा गायक ईश्वर गुरुङ निकै भावूक हुँदै स्व.प्रविण गुरुङ्लाई निकै सम्झिएको अभिव्यक्त गरे । साथै उहाले आफ्नै पहलमा स्व.गुरुङको नाममा ट्रस्ट खोल्ने योजना रहेको उल्लेख गरे ।

त्यस्तै सुदुर पश्चिमबाट प्रतिनिधित्व गरेका टप आइडल रवी ओडलाई सुदुरपश्चिमेली समाजका तर्फ बाट समाजका अध्यक्ष एकेन्द्र थापा र महासचिब दिनेश अधिकारी तथा पुर्व अध्यक्ष पुर्ण चलाउने, प्रवक्ता तथा ओएस नेपाल जापान प्रमुख एच.बी ताम्राकारले विशेष सम्मान गर्दै उनी सहित नेपाल आइडलका सबै टप ५ लाई खादा तथा सम्मानपत्र प्रदान गरी सम्मान गरे ।
कार्यक्रममा एनआरएनका प्रतिनिधिहरु , नेपाल आइडल तथा जापानका आयोजक रेस्पेक्ट एण्ड राईजका अध्यक्ष राजीव श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै नेपाली दाजु भाई दिदीबहिनीहरुलाई धन्यवाद दिदै यसले आगामी कार्यक्रम गर्न हौशला मिलेको खुशी व्यक्त गरे ।
ईभेन्ट प्रमुखहरु लेलिन भट्टचन र सचिन श्रेष्ठ लगायत कार्यक्रममा कलाकारहरुले सबै नेपालीको माया र साथ पाएर आफुहरु बिजेता बनेको बताउदै सबैको साथ लिएर अझै सांगितिक क्षेत्रमा केही योगदान दिने प्रतिबद्धता ब्यक्त गरे ।

सम्मान कार्यक्रमा अनेसास जापानका उपाध्यक्ष गिरिराज गैरै , दिपा घिमिरे , पार्वती सिंह , म नेपाली ग्रुप कि दिपा कार्की, वरिष्ठ पत्रकार प्रेमिला गौचन, नयॉं शक्ति पार्टी तथा अन्तराष्ट्रीय नेपाली समाज जापानका अध्यक्ष पदम सिंह ठगुन्ना, एनआरएनका प्रतिनिधिहरु, लगायत जापानवासी नेपालीहरुको वाक्लो उपस्थिती रहेको थियो ।
नेपाल आइडल सेसन-२ पहिलो अन्तरराष्ट्रिय सांगीतिक यात्राका क्रममा जापान अाइपुगेको हो । गत आइतवार टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा एक साँगितिक कार्यक्रममा प्रस्तुत हुनको लागि आएका उनीहरुको साथमा उद्घोषिका रीमा विश्वकर्मा र नर्तकी एलिशा राइ पनि आएका थिए भने उनिहरु ७ जना हिजो मंगलबार नै नेपाल फर्की सकेको छ ।



