काठमाडौं। जापानी सांसदहरुको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ। नेपाल भ्रमणमा रहेको जापानको हाउस अफ काउन्सिलर्सका सदस्यहरुको टोलीले अर्थमन्त्री खतिवडासँग भेट गरेको हो।
भेटका क्रममा जापानले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता परिचालनका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। यस्तै जापानको सहयोगलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ।
छलफलमा अर्थमन्त्री खतिवडाले नेपालको आवश्यकताअनुसार जापानको सहायता परिचालन गरिने उल्लेख गरेका गरेका छन्। उनले विभिन्न माध्यमबाट जापानबाट आउने सहयोग तथा लगानीलाई अन्तर्राष्ट्रिय व्यापार, पर्यटन तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा प्रयोग गरिने बताए।
नेपालको संविधानमा उल्लेखित मौलिक हक कार्यान्वयन गर्न तथा नेपाललाई सन् २०२२ मा अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुन तथा सन् २०३० भित्रमा दीगो विकासका लक्ष्य भेट्टाउन ठुलो रकम आवश्यक रहेको भन्दै अर्थमन्त्री खतिवडाले सहयोग बढाउन आग्रह गरे।