जापानकाे एक रेष्टुराँमा भएको शक्तिशाली विस्फोटको छानबिन शुरु

Everest Fuji News २०७५ पुष २ मा प्रकाशित       Published at 2018 Dec 17


टोकियो । जापान प्रहरीले आइतबार राति साप्पोरोस्थित एक रेष्टुराँमा भएको शक्तिशाली विस्फोटको छानबिन थालेको जनाएको छ । उक्त विस्फोटबाट ४२ जना घाइते हुनुका साथै वरिपरिका केही भवनमा क्षति भएको थियो ।

स्थानीय अधिकारीहरुले साप्पोरोस्थित एक रेष्टुराँमा रातिपख आगो सल्किएको र त्यसलगत्तै भएको विस्फोटबाट आसपासका केही घरमा क्षति पुगेको बताएका छन् । उनीहरुले दर्जनौं स्थानीयबासीलाई अस्थायी टेन्टमा राखिएको छ ।

प्रहरीले उक्त विस्फोटको अनुसन्धान शुरु गरेको जनाएको छ, तर ग्यास चुहिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

विस्फोटपछि आगोको ठूलो लप्का र धुवाँ माथि आकाशसम्म पुगेको देखिएको थियो । प्रत्यक्षदर्शीहरुले उक्त विस्फोटको आवाज र धुँवाले जनजीवन त्रसित बनाएको बताएका छन् ।

दुर्घटनमा घाइतेहरुलाई उपचारका लागि तत्काल अस्पताल पुर्याइएको थियो । घाइतेमध्ये सात जना बालबालिका छन् ।

विस्फोटपछि आसपासका २५० वटा घरमा केही समय विद्युत सेवा अबरुद्ध भएको थियो । गत फेब्रुअरीमा साप्पोरोको एक वृद्धाश्रममा आगलागी हुँदा ११ जनाको ज्यान गएको थियो । (रासस/एएफपी)



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.