Everest Fuji News२०७५ कार्तिक २६ मा प्रकाशितPublished at 2018 Nov 12
नेपाली चलचित्र इतिहासमै सबैभन्दा धेरै व्यापार गर्न सफल चलचित्र हो छक्का पञ्जा ३ । इतिहासमै नभएको रेकर्ड बनाउँदै नेपाली चलचित्र हलहरुमा अहिले पनि चलचित्र छक्का पञ्जा ३ प्रदर्शन भइरहेको छ । नेपालसँगै विदेशी बजारमा पनि चलचित्र प्रदर्शन भइरहेको छ ।
यसैबीच चलचित्र छक्का पञ्जा ३ ले अमेरिकामा पनि ऐतिहासिक रेकर्ड कायम गर्न सफल भएको छ । चलचित्रले अमेरिकामा पनि अत्याधिक सफलता हात पारिरहेको बताइएको छ ।
नेपालको सफल प्रदर्शनसँगै अमेरिकामा पनि चलचित्र छक्का पञ्जा ३ विगत एक महिनादेखि लगातार चलिरहेको छ । अमेरिकाको डालस टेक्सासमा अहिले सम्म ६४ शोभन्दा माथि प्रदर्शन भएको बुझिएको छ । डालस टेक्सासमा यसअघि कुनै पनि नेपाली चलचित्रहरुले सफल प्रदर्शन गर्न नसकेको डालसका लागि अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्म्सले बताएको छ ।
चलचित्र छक्का पञ्जा ३ ले नेपालका सरकारी विध्यालयमा हुने राजनिति र त्यसले पुर्याइएको असरलाई आकर्षक ढंगबाट प्रस्तुत गरेको छ । पहिले यस ब्यानरबाट निर्माण भएका चलचित्रहरुले कुनै शन्देश दिन नसकेको आरोप लाग्ने गरेको थियो तर यस पटक भने चलचित्रले चौतर्फी प्रशंसा पाइरहेको छ ।
नेपालको घरेलु बजारको व्यापारलाई हेर्ने हो भने अहिलेसम्म चलचित्रले १८ करोड भन्दा माथि कलेक्सन गर्न सफल भएको बताइएको छ । जुन नेपाली चलचित्र इतिहासकै सबै भन्दा धेरै हो ।
दीपाश्री निरौलाको निर्देशनमा निर्माण चएको चलचित्र छक्का पञ्जा ३ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, विल्सनविक्रम राई, दीपिका प्रसाईं, निर शाहलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
(Source:) उज्यालो र गफगाफ डटकमको सहकार्य