टोकियो ।
नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष आयोजना गर्दै आएको सामुहिक म्ह: पूजा कार्यक्रम यो वर्ष पनि सम्पन्न गरेको छ। टोकियो कोतोकु स्थित कितासुना दान्चीको हलमा नोभेम्वर १० तारिकको दिन ठुला तथा बालबच्चा सहित झण्डै सय जनाको एकै पटक गरिएको म्ह: पूजा कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको जानकारी संस्थाको महासचिव शिव तण्डुकारले दिनुभयो ।
कार्यक्रमको सुरूवात नेवारहरूको नेता भनेर पनि चिनिने र मानव अधिकारकर्मी पद्दमरत्न तुलाधर ज्युलाई सम्झिएर , उहाँको योगदानको चर्चा गर्दै उहाँको निधनले पुग्न गएको क्षती प्रति दु:ख व्यक्त गर्दै श्रद्धञ्जली अर्पण गरेका थिए ।
अध्यक्ष दीपरत्न शाक्यले सहभागी सबैलाई स्वागत गर्नुभएको थियो भने संस्थाको संस्थापक अध्यक्ष माधव मानन्धरले शंखधर साख्वाको फोटोमा माल्यार्पण तथा दीप प्रज्वलन गर्नुभएको थियो, साथै नेपाल सम्बतको शुभकामना दिदै , कहिले बाट नेपाल सम्बत सुरू भयो र यसको सुरूवातीकर्ता शंखधर साख्वाको बिषयमा केही जानकारी समेत दिनुभयो ।
यसै कार्यक्रमा नेपाल बाट आउनु भएको नेवार कलाकार द्वय सुरेन्द्र तुलाधर र निल शाक्यलाई खादा ओडाई सम्मान गरियो । सुरेन्द्र तुलाधर ईमेज च्यानलमा नेवारी टेलिचलचित्र खोटा बजी जुन ७५० भाग भन्दा माथि प्रसारण भैसकेको छ त्यसको निर्देशक हुनुहुन्छ । यस बाहेक नेवारी गीत संगितलाई प्रवर्धन गर्न ठुलो योगदान दिनुभएको छ । नेवारी गीत संगितले धेरैलाई मनोरञ्जन दिनुहुने निल शाक्यलाई पनि आफु माँझ पाउदा सहभागीहरू उत्साहित भएका थिए ।
त्यस पछी विधिवदरूपमा म्ह: पूजा सुरू भएको थियो । संस्थाकी पूर्व अध्यक्ष ज्ञानु खातो मानन्धरको महिला टीमले सहभागी सबैको शरिरको पूजा गर्दिनुभएको थियो ।
संसारमा सम्भवत नेवारी परम्परामा मात्र भएको शरिर पूजा गर्ने परम्पराले ठुलो अर्थ राख्दछ । मनिसको सबै भन्दा ठुलो धन भनेको स्वस्थ शरिर हो , यही शरिरमा रोग व्याद नलागोस् भन्ने हेतुले पूजा गरिने परम्परा हो “म्ह: पूजा “महा सचिव तण्डुकारले प्रस्ट पार्नुभयो र विदेशमा पनि यसरी आफ्नो परम्परालाई बृहतरूपमा आयोजना गर्न पाउदा निकै खुशी लागेको समेत बताउनुभयो ।
कार्यक्रममा सहभागीहरू पनि निकै हर्षित देखिन्थे । जापानमा पनि नेपालको जस्तै म्ह: पूजा गर्न पाएकोमा दंग देखिन्थे ।
यसकार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिघीहरूको समेत उपस्थिति रहेको थियो , नेवार संस्थाले आफ्नो परम्परालाई यति उत्कृष्ठरूपमा आयोजना गर्नुभएकोमा बधाई तथा आउदा वर्षमा अझै बृहत होस् भनेर शुभकामना पनि दिनुभयो ।
पूजा पश्चात खान पिनको कार्यक्रम रहेको थियो , नेवारी पकवान र पिय पदार्थको व्यवस्था गरिएको थियो । कार्यक्रमको अर्को आकर्षण यो पनि रह्ये, धेरै सहभागीहरू जापान आएर पहिलो चोटी नेवारी खाना खान पाएको समेत बताएका थिए ।
कार्यक्रमलाई अझ रमाईलो गर्न सांगितिक कार्यक्रम पनि गरिएको थियो । साना नानीहरू नेवारी गीतमा नृत्य प्रदर्शन गरेका थिए । कलाकार द्वय सुरेन्द्र तुलााधर र निल शक्यले पनि आफ्ना नेवारी गीतहरू गाएर सहभागीहरूलाई नचाएका थिए ।
समग्रहमा भन्नु पर्दा बिदेशमा यती धेरै जना सहभागी भएको म्ह: पूजा आयोजना गर्नु नै ठुलो कुरा हो र त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नु अझै ठुलो कुरा हो यसको लागि आयोजक नेवा: अन्तराष्ट्रिय फोरम जापानलाई बधाई दिदै भविष्यमा अझै बृहत गर्दै लैजाने शुभकामना पनि छ ।



